- माघ २५, २०८२
- No Comment
- 15
आईसीसी टी–२० विश्वकप : आज इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दै नेपाल
आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेट २०२६ को पहिलो खेलमा आज नेपालले विश्व विजेता इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको विश्वकपको उद्घाटन खेल आइतबार मुम्बईस्थित वानखेडे स्टेडियममा दिउँसो ३ः१५ बजे सुरु हुँदैछ।
विश्वकपका सबै खेलहरू नेपालले मुम्बईको वानखेडे रंगशालामै खेल्नेछ। नेपालका लागि आजको खेल विशेष महत्त्वपूर्ण मानिएको छ, किनभने अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलोपटक इंग्ल्यान्डविरुद्ध टी–२० आई खेल्न लागेको हो।
नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजित टी–२० विश्वकपबाट पहिलोपटक विश्वकप यात्रा सुरु गरेको थियो। दोस्रोपटक विश्वकप खेल्न नेपालले १० वर्ष कुर्नुपरेको हो। सन् २०२४ को विश्वकपमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै विश्व क्रिकेटमा आफ्नो पहिचान बलियो बनाएको थियो। दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित भएको थियो।
यसअघि दुई पटक विश्वकप खेलेको नेपाल समूह चरण पार गर्न भने सकेको छैन। यो विश्वकप पनि नेपालले कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा खेल्दैछ। सोमपाल कामी तीन पटक विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन्।
नेपाल विश्वकपमा समूह ‘सी’ मा रहेको छ। यस समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इंग्ल्यान्ड, स्कटल्यान्ड र इटाली छन्। बंगलादेशले भारतमा विश्वकप खेल्न अस्वीकार गरेपछि आईसीसी रेङ्किङका आधारमा स्कटल्यान्डले विश्वकप खेल्ने अवसर पाएको हो।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम रहेका छन्।
नेपालले आज इंग्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्न लागेको छ। पहिलो खेल नै विश्व विजेता टोलीविरुद्ध भएकाले यो खेल नेपाली क्रिकेटका लागि ऐतिहासिक र चुनौतीपूर्ण हुने अपेक्षा गरिएको छ।