- माघ १९, २०८२
- No Comment
- 16
चौकुने–३ शोभानचौरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ४८औँ वार्षिक उत्सव सम्पन्न
चौकुने। चौकुने गाउँपालिका वडा न-३ शोभानचौर स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ४८ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केसर बहादुर नामजालीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथिका रूपमा चौकुने गाउँपालिका अध्यक्ष श्री खडक बि.क बासपानेको उपस्थिति रहेको थियो भने विशेष अतिथिका रूपमा गाउँपालिका उपाध्यक्ष श्री नर बहादुर बान्तोला सहभागी रहनुभएको थियो।
त्यसैगरी वडा नं. ३ का वडा अध्यक्ष श्री गणेश कुमार राना, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, अभिभावकहरू, शिक्षक–शिक्षिका तथा स्थानीय समुदायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष खडक बि.क.बासपानेले विद्यालय शिक्षाको आधारस्तम्भ भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षा विकासका लागि गाउँपालिकाले आवश्यक सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा शिक्षक, अभिभावक र स्थानीय तहको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। विशेष अतिथि उपाध्यक्ष नर बहादुर बान्तोलाले विद्यालयको शैक्षिक उन्नति र अनुशासनले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै अभिभावकहरूलाई विद्यालयसँग नजिक भएर सहयोग गर्न आग्रह गर्नुभयो। वडा अध्यक्ष गणेश कुमार रानाले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि वडा कार्यालयबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री पदम बहादुर शाहीले विद्यालयको वार्षिक आय–व्यय विवरण तथा शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उत्सवको अवसरमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।
साथै विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य, गीत तथा मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए। वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रमले विद्यालय र अभिभावकबीचको सम्बन्ध थप सुदृढ बनाउँदै शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।