- माघ १४, २०८२
- No Comment
- 16
बाँकेमा ६१ मतदानस्थल अति संवेदनशील
नेपालगन्ज । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बाँके जिल्लाका १३९ मतदानस्थलमध्ये ६१ वटा मतदानस्थललाई अति संवेदनशील वर्गमा राखिएको छ। भारतसँग करिब ६५ किलोमिटर खुला सीमा रहेको बाँकेमा निर्वाचन सुरक्षालाई विशेष प्राथमिकताका साथ व्यवस्थापन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ।
जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङका अनुसार जिल्लामा ५० वटा मतदानस्थल संवेदनशील र २८ वटा सामान्य श्रेणीमा रहेका छन्। बाँके जिल्लाभरका १३९ मतदानस्थलमा ४०० मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालय बाँकेले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले निर्वाचनलाई मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा योजना तयार पारिएको जानकारी दिनुभयो। उहाँका अनुसार निर्वाचन अवधिभर नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिनेछ।
त्यसैगरी, मतदानको केही दिन अघिदेखि नै सीमानाकामा नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त गस्ती सुरु भइसकेको र यो गस्ती निर्वाचन अवधिभर निरन्तर रहने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार यसपटक बाँकेमा तीन लाख ५० हजार ३७१ जना मतदाता रहेका छन्। अस्थायी मतदाताको नामावली सङ्कलन कार्य जारी रहेको उल्लेख गर्दै उहाँले करिब ७० प्रतिशत नामावली सङ्कलन भइसकेको जानकारी दिनुभयो।
अस्थायी मतदान केन्द्रको विषयमा हालसम्म कुनै निर्णय नभएको बताउँदै शाहीले अस्थायी मतदाताले समानुपातिकतर्फको निर्वाचन प्रणालीमा मात्र मतदान गर्न पाउने जानकारी दिनुभयो।