- माघ १४, २०८२
- No Comment
- 21
जाजरकोटकाे जुनीचाँदेमा साथीकै हत्या गरेको आरोपमा नाबालकहरू पक्राउ
जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा एक युवकको हत्या भएको घटनामा संलग्न भएको आरोपमा उनका नजिकका साथीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गत २०८२ साल माघ ९ गते जुनीचाँदे गाउँपालिका वडा नं. ४ स्थित पाथिभरा मन्दिर दर्शनका लागि गएका स्थानीय खिमराज बिष्टको हत्या भएको थियो। उनीसँगै मन्दिर गएका उनका साथीहरूले नै कर्तव्य गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। माघ १० गते बिष्टको शव फेला परेको थियो।
मृतकका बुवाले ‘कर्तव्य ज्यान’ सम्बन्धी मुद्दामा किटानी जाहेरी दिएपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा नाबालकहरूलाई माघ १२ गते नियन्त्रणमा लिएको हो। पक्राउ परेका सबै मृतकका साथीहरू रहेको र उनीहरू नाबालक भएकाले बालबालिका सम्बन्धी विशेष कानुनी प्रक्रिया अपनाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका नाबालकहरूलाई माघ १३ गते जाजरकोट जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतबाट थप अनुसन्धानका लागि ५ दिनको म्याद लिई उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको बाल निगरानी कक्षमा राखेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधिर कुमार खड्काले घटनाबारे जानकारी दिदै अनुसन्धान जारी रहेको बताउनुभएको छ।