- फाल्गुन ११, २०८२
- No Comment
- 3
घण्टी बजाएको निहुँमा एमाले कार्यकर्ताद्वारा विद्यार्थीमाथि कुटपिट
काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा विद्यालय पोसाकमै रहेका विद्यार्थीमाथि कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।
भिडियोमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को झण्डा बोकेका कार्यकर्ताहरूले पसलभित्र पसेर केही विद्यार्थीलाई हातपात गरेको देखिन्छ। घटना अत्तरखेलस्थित एक बेकरी पसलमा भएको बताइएको छ।
स्थानीयका अनुसार विद्यालय पोसाकमा रहेका विद्यार्थीहरू चिया खाइरहेका बेला एमालेको र्याली त्यहाँबाट गुज्रिएको थियो। विद्यार्थीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी को चुनाव चिन्ह ‘घण्टी’ बजाएको निहुँमा विवाद सुरु भएको दाबी गरिएको छ। त्यसपछि केही कार्यकर्ता आक्रामक बन्दै पसलभित्रै पसेर विद्यार्थीलाई झापड हानेको आरोप छ।
कुटपिटमा परेका विद्यार्थीहरू नजिकैको एक विद्यालयमा कक्षा १० मा अध्ययनरत रहेको बताइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं का सूचना अधिकारी एसपी पवनकुमार भट्टराईले घटनाबारे जानकारी आएको र यथार्थ विवरण बुझ्ने काम भइरहेको बताए। उनले घटनाको आधिकारिक पुष्टि हुन बाँकी रहेको र अनुसन्धान जारी रहेको जानकारी दिए।
घटनापछि सामाजिक सञ्जालमा बालबालिकामाथि भएको व्यवहारको चौतर्फी आलोचना भइरहेको छ।