
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएर सम्पर्कविहीन भएका कञ्चनपुरका सबै महिला सकुशल फेला परेका छन्। भीमदत्त नगरपालिकाका १४ जना महिला आफैं घर फर्किएका छन् भने बेलडाँडी गाउँपालिकाका तीन जनाको नेपाली सेनाले उद्धार गरेको छ।
भीमदत्त नगरपालिका–१९ का वडाध्यक्ष जगुराम थारु चौधरीका अनुसार निकुञ्जभित्र प्रवेश गरेपछि बाटो बिराउँदा उनीहरू सम्पर्कविहीन भएका थिए। सोमबार दिउँसो करिब १२:१५ बजे उनीहरू सकुशल घर फर्किएका हुन्।
सकुशल घर फर्किनेमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार रहेका छन्।
उनीहरू आइतबार बिहान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न ९ र ५ जनाको दुई समूह बनाएर प्रवेश गरेका थिए। साँझसम्म पनि घर नफर्किएपछि तथा सम्पर्क हुन नसकेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले खोजी अभियान सञ्चालन गरेको थियो।
महिलाहरू सकुशल फेला परेपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालासहितको टोली बागफाँटा पुगेको थियो।
यसैबीच, बेलडाँडी गाउँपालिका–३ चउन्नीका लक्ष्मी थापा मगर, मञ्जु क्षेत्री र सीता चौधरीलाई पनि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट नेपाली सेनाले सकुशल उद्धार गरेको जनाएको छ।



