
काठमाडौं, साउन ५ ।
देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले मौसम बदलीसँगै वर्षाको गतिविधि सक्रिय रहनेछ।
महाशाखाका अनुसार हाल देशभर अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ। हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको छ।
त्यसैगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र, मधेश प्रदेश, कर्णालीका पहाडी क्षेत्र र सुदूरपश्चिमका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसमविद्ले भारी वर्षा हुन सक्ने क्षेत्रमा बाढी, पहिरो, डुबान तथा नदी–खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।



