
काठमाडौं, साउन ६ । सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणको सत्यतथ्य छानबिन गर्न तीन सदस्यीय न्यायिक समिति गठन गरेको छ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो।
समितिका सदस्यमा पूर्वसहन्यायाधिवक्ता कृष्णमोहन कोइराला र पूर्वसहसचिव रामुराज कडरिया रहेका छन्। समितिलाई गठन भएको मितिले सात दिनभित्र घटनाबारे छानबिन गरी प्रतिवेदन सरकारसमक्ष पेश गर्ने जिम्मेवारी दिइएको छ।
गणेश नेपालीको गत असार २६ गते वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा निधन भएको थियो। उनको निधनपछि नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको थियो।
उक्त सहमतिअनुसार घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्ने र समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने व्यवस्था गरिएको थियो। सरकारले सोही सहमतिअनुसार समिति गठन गरेको हो।



