
वीरेन्द्रनगर, १६ साउन ।
मानव अधिकार तथा शान्ति समाजले देशव्यापी रूपमा 'सद्भाव एकता अभियान' सुरु गरेको छ। अभियानको पहिलो चरणअन्तर्गत आज (साउन १६ गते) बिहान सुर्खेतको वीरेन्द्रनगरमा एक भव्य एकता र्याली आयोजना गरिएको छ।
"हाम्रो जीवनधारा अहिंसा, शान्ति, सद्भाव, सहिष्णुता र भाइचारा, तोड्न होइन जोड्नका लागि योगदान गरौँ, संवाद, सहमति, सहकार्यको मार्ग अवलम्बन गरौँ" भन्ने मूल आह्वानका साथ शान्ति समाज सुर्खेत शाखाको आयोजनामा सो र्याली सम्पन्न भएको हो।
आयोजित कार्यक्रममा बोल्दै शान्ति समाजका महासचिव प्रकाश शाही तथा अन्य सामाजिक अगुवाहरूले समाजमा शान्ति, सहिष्णुता र आपसी भाइचारा कायम राख्न संवाद र सहकार्यको बाटो नै सर्वोत्तम विकल्प भएको कुरामा जोड दिनुभएको थियो।
शान्ति समाजले आफ्ना विभिन्न जिल्ला शाखाहरूमार्फत पहिलो चरणमा देशका विभिन्न स्थानहरूमा यस्तै एकता र्याली तथा सद्भाव अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।



