
सिरहा, साउन १६ । सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका १५ वर्षीय गणेश यादवको शव शनिबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत उनको घर पुर्याइएको छ।
औरही गाउँपालिका–२, तुलसियाहीस्थित निवासमा शव पुगेपछि परिवार, आफन्त तथा स्थानीयवासी भावुक बनेका थिए। परिवारका अनुसार हिन्दू परम्पराअनुसार आवश्यक धार्मिक विधि पूरा गरी शनिबार नै गागन खोलाको किनारमा गणेशको अन्त्येष्टि गरिनेछ।
घटनापछि उत्पन्न तनाव समाधानका लागि शुक्रबार राति गृहमन्त्री सुधन गुरुङ मृतकको घर पुगेर परिवारसँग छलफल गरेका थिए। छलफलपछि सरकार र परिवारबीच ८ बुँदे सहमति भएको छ।
सहमतिअनुसार गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाइने, परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइने, एक योग्य सदस्यलाई रोजगारीको व्यवस्था गरिने, भाइबहिनीलाई निःशुल्क शिक्षा तथा बुबाआमालाई सरकारी अस्पतालमा निःशुल्क उपचारको सुविधा उपलब्ध गराइनेछ।
यस्तै, गोलबजार घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने, छानबिन समितिको सिफारिस कार्यान्वयन गर्ने र गणेश यादवको सम्झनामा स्मृति पार्क निर्माण गर्ने सहमति पनि भएको छ।
सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङ र मृतकका तर्फबाट गणेशका बुबा रामवृक्ष यादवले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। घटनापछि क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग जारी छ।



