
सुर्खेत, साउन ६ । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारीस्थित सडकमा बुधबार फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सिम्ता गाउँपालिकाबाट गुमीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख ०४९० नम्बरको फोर्स गाडी बिहान करिब ११:४५ बजे अनियन्त्रित भई सडकमै पल्टिएको हो। गाडी सिम्ता गाउँपालिका–९ का करिब ४३ वर्षीय गगन थापाले चलाएका थिए। दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी गुमीबाट प्रहरी सहायक निरीक्षक श्याम थापाको नेतृत्वमा ट्राफिकसहितको टोली घटनास्थल पुगेर उद्धार सुरु गरेको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय छिन्चु र प्रहरी चौकी मेहेलकुनाबाट थप प्रहरी परिचालन गरी घाइतेहरूको उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये ४० वर्षीय गणेश वली, ५ वर्षीय रियाज शाही, ३९ वर्षीया भावना राई र ४० वर्षीय अर्का एक घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
उनीहरूको कर्णाली प्रदेश अस्पताल, कर्णाली केयर अस्पताल र माया अस्पतालमा उपचार भइरहेको छ। अन्य १५ जना घाइतेहरूको मेहेलकुना अस्पताल, माया अस्पताल र कर्णाली केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको छ भने दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



