
सुनसरीको देवानगञ्ज घटनामा मृत्यु भएका परिवारहरूले शव बुझ्न तयार भएका छन्। परिवार सहमत भएसँगै मृतकद्वय ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव पोस्टमार्टमका लागि कोशी अस्पताल पुर्याइएको छ।
गृहमन्त्री सुधन गुरुङसँग बिहीबार राती औपचारिक सहमति भएपछि पनि देवानगञ्ज –३ कप्तानगञ्ज गोलीकाण्डमा मृत्यु भएका दुई युवाको शव बुझ्न आफन्तले आनाकानी गर्दै आएका थिए।
यद्यपि सुनसरी प्रहरीले परिवारका सदस्य भेट गरेर शव बुझ्ने वातावरण बनाएको हो । पोष्टमार्टमपछि आजै अन्त्येष्टि गर्ने बताइएको छ ।
यसअघि आफन्तले दबाबमा आफूहरूलाई सहमतिपत्रमा हस्ताक्षर गराएको र सहमति कार्यान्वयनको सुनिश्चितता नभएको भन्दै शव नबुझि फर्किएपछि अन्योल सिर्जना भएको थियो।
गत आइतबार राति देवानगञ्ज गाउँपालिका कप्तानगन्जमा दुई समुदायबिच भएको विवादका क्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा स्थानीय ओमप्रकाश मेहताको सोही राति मृत्यु भएको थियो।
गोली लागेर घाइते भएका जयप्रकाश मेहताको बिहीबार उपचारका क्रममा मृत्यु भएको थियो। दुवै मृतकको शव विराटनगरस्थित न्युरो अस्पतालको शव गृहमा राखिएको थियो।



