
नेपाली प्राकृतिक पिउने पानीलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने ऐतिहासिक लक्ष्यका साथ नेपाल पानी उद्योग महासंघको ७ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल ओमान प्रस्थान गरेको छ। गैर-आवासीय नेपाली सामाजिक क्लब-ओमान (एनआरएनएसटी) र नेपाल निर्यात व्यवसायी महासंघ (फीन) को संयुक्त आयोजनामा मस्कटमा हुन लागेको द्विपक्षीय व्यापारिक सम्झौता (MOU) साझेदारी कार्यक्रममा सहभागी हुन महासंघका अध्यक्ष बिक्रम लिम्बु चेम्जोङको नेतृत्वमा रहेको टोली सोमबार ओमानतर्फ लागेको हो। नेपाल र ओमानबीच व्यापार प्रवर्द्धन, दुई देशका उद्यमीहरूबीच आपसी सहयोग तथा व्यावसायिक अवसरहरूको विस्तार गर्ने मुख्य उद्देश्यका साथ यो टोली ओमान प्रस्थान गरेको हो।
यस भ्रमणका क्रममा नेपालबाट ओमानमा नेचुरल स्प्रिङ वाटर र ग्ल्यासियर वाटर जस्ता पिउने पानी निर्यात गर्ने विषयमा महत्त्वपूर्ण 'बिजनेस टु बिजनेस' (B2B) सम्झौतामा हस्ताक्षर हुने सम्भावना रहेको छ। प्राकृतिक जलस्रोतमा धनी नेपालका लागि व्यावसायिक रूपमा पानी निर्यातको ढोका खोल्न यो भ्रमण एउटा ऐतिहासिक कदम साबित हुने अपेक्षा गरिएको छ। ओमानमा विभिन्न व्यापारिक छलफल र सम्झौता सम्पन्न गरी प्रतिनिधिमण्डल आगामी शुक्रबार स्वदेश फर्कने कार्यतालिका रहेको छ।
भ्रमण टोलीमा नेपालका सातै प्रदेशका इन्चार्ज तथा केन्द्रीय पदाधिकारीहरूको पूर्ण प्रतिनिधित्व रहेको छ। प्रतिनिधिमण्डलमा महासंघका अध्यक्ष एवं बागमती प्रदेश प्रतिनिधि विक्रम लिम्बु चेम्जोङ, मधेस प्रदेश इन्चार्ज प्रमोदकुमार साह, गण्डकी प्रदेश इन्चार्ज एवं महासंघका उपाध्यक्ष रवीन्द्रमोहन अधिकारी, लुम्बिनी प्रदेश इन्चार्ज एवं महासंघ उपाध्यक्ष पुरुषोत्तम पाण्डे, कर्णाली प्रदेश इन्चार्ज एवं महासंघका अर्का उपाध्यक्ष कृष्णप्रसाद आचार्य, सुदूरपश्चिम प्रदेश प्रतिनिधि प्रकाश शाही र कोशी प्रदेशका प्रतिनिधि सुदीप थापा सहभागी हुनुहुन्छ।
ओमान प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासंघका वरिष्ठ उपाध्यक्ष भरत बुढाथोकी, केन्द्रीय सदस्य हरि गिरी, काठमाडौँ पानी उद्योग संघका अध्यक्ष गोकुल थापा, महासचिव अमराज लामा र मूल्य निर्धारण समितिका संयोजक भिमसेन खतिवडाले भ्रमण टोलीलाई शुभकामनासहित बिदाई गर्नुभएको थियो।
यस भ्रमणले नेपाली पानी उद्योगको समग्र विकास, प्रविधि र बजार विस्तारमा बहुआयमिक फाइदा पुर्याउने देखिन्छ। यसबाट अन्तर्राष्ट्रिय स्तरमा प्रयोग भइरहेका अत्याधुनिक वाटर ट्रिटमेन्ट, फिल्ट्रेसन र बोटलिङ प्रविधि नेपाल भित्राउनुका साथै उत्पादन क्षमता र स्वच्छताका लागि स्वचालित (अटोमेसन) प्रणाली लागू गर्न सहयोग पुग्नेछ। साथै, ISO वा HACCP जस्ता अन्तर्राष्ट्रिय गुणस्तर र खाद्य सुरक्षा मापदण्ड अपनाउन तथा पानी परीक्षण गर्ने आन्तरिक प्रयोगशालाहरूको सुदृढीकरण गर्न मद्दत मिल्नेछ।
यसका साथै, नेपालको प्राकृतिक र हिमाली पानीलाई विश्व बजारमा 'हिमालयन वाटर'का रूपमा प्रिमियम ब्रान्डिङ गर्दै खाडी मुलुकहरू तथा अन्य छिमेकी देशहरूमा निर्यातको मार्ग प्रशस्त हुनेछ। यस भ्रमणले नेपाली प्राविधिक तथा कर्मचारीहरूको दक्षता अभिवृद्धि गर्नुका साथै संयुक्त लगानी (Joint Venture) मार्फत नेपालमै ठूला पानी उद्योग स्थापना गर्न विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्नेछ।



