
सुर्खेत । सुर्खेतमा गत आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनमाथिको कारबाहीबाट १ करोड ३२ लाख ४८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ठाकुरप्रसाद पोखरेलका अनुसार उक्त अवधिमा ट्राफिक नियम उल्लङ्घन तथा विभिन्न कानुनी कसुरमा १४ हजार ९४९ वटा सवारी साधन कारबाहीमा परेका थिए।
यस्तै, गत आर्थिक वर्षमा जिल्लाभर ६९० वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ३७ जनाको मृत्यु भएको छ भने १ हजार १६६ जना घाइते भएका प्रहरीले जनाएको छ।
सडक दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरीले वर्षभर २ हजार ७०७ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ। ती कार्यक्रमबाट २ लाख ३१ हजार १३७ जना प्रत्यक्ष रूपमा लाभान्वित भएको एसपी पोखरेलले जानकारी दिए।
प्रहरीले ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन र सडक सुरक्षा सचेतना अभिवृद्धिमार्फत दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गर्दै आएको जनाएको छ।



