
रामेछाप, भदौ २२ — रामेछापको खाँडादेवी गाउँपालिका–२ मझुवा नेवारटोलमा एक वृद्ध दम्पतीलाई घरभित्रै बन्धक बनाएर लुटपाट गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। गत बिहीबार राति ८५ वर्षीय बखतमान लामा र उहाँकी ८६ वर्षीया श्रीमती कान्छीमाया तामाङलाई प्लास्टिक टेपले मुख बाँधेर, आँखामा पट्टी लगाई ज्यान मार्ने धम्की दिँदै डकैती गरिएको थियो।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सिन्धुली घ्याङलेख–२ का २५ वर्षीय सुमन जर्घा मगर, रामेछाप खाँडादेवी–२ का ३२ वर्षीय दीर्घराज मोक्तान र ३३ वर्षीय पशुपति श्रेष्ठ, झापाका ४४ वर्षीय पिताम्बर तहतराज तथा धनकुटाका ३८ वर्षीय गुणराज विश्वकर्मा 'दीपक' लाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूको साथबाट नगद, मोबाइल, मोटरसाइकल, सुनका औँठी, पुराना सिक्का र बुद्धचित्तका दाना समेत बरामद गरेको छ।
अनुसन्धानका क्रममा पक्राउ परेका पशुपति श्रेष्ठ यसअघि पनि मन्दिरको दानपेटिका फुटाउने, खसीबोका चोरी गर्ने र काठमाडौंमा सिक्री लुट्ने घटनामा संलग्न रहेको खुलेको छ। साथै, यो समूहले सोही दिन बिहान सुनापति–२ दिमीपोखरीका ७५ वर्षीय इमानसिंह तामाङको घरबाट ७८ हजार रुपैयाँ चोरेको समेत अनुसन्धानबाट खुल्न आएको छ। पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।



