
बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रोकथामका लागि खोप तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको छ। बाढीका कारण खानेपानी तथा सरसफाइ प्रणाली प्रभावित हुँदा हैजा र अन्य पानीजन्य रोगको जोखिम उच्च रहेकाले मन्त्रालयले प्रभावित क्षेत्रमा खोप अभियानलाई प्राथमिकतामा राखेको छ।
यसैक्रममा मन्त्रालयले मंगलबार नुवाकोट जिल्लाका लागि ८० हजार ५ सय २३ डोज (२३ बक्स) हैजाविरुद्धको खोप पठाएको छ। खोपको सुरक्षित भण्डारण र ढुवानीका लागि खोपसँगै १० थान 'फ्रिज-फ्री भ्याक्सिन क्यारियर', ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग समेत हस्तान्तरण गरिएको छ।
यता अर्को प्रभावित जिल्ला रसुवामा भने यसअघि नै हेलिकप्टरमार्फत खोप र आवश्यक सामग्री पुर्याइसकिएको छ। रसुवामा आगामी बिहीबारदेखि हैजाविरुद्धको खोप अभियान औपचारिक रूपमा सञ्चालन हुने मन्त्रालयले जनाएको छ।
संक्रमण फैलन नदिन र स्थानीयवासीको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न मन्त्रालयले उच्च सतर्कता अपनाउँदै दुवै जिल्लामा तीव्र गतिमा काम भइरहेको जनाएको छ।



