
जुम्ला, भदौ २३ । पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्गको जुम्ला–मान्म खण्ड चौबिसै घण्टाको प्रयासपछि सोमबार रातिदेखि सञ्चालनमा आएको छ।
भदौ २० गते बेलुकी पहिरो गएपछि सेरावाडा, सिम्ले, सिम्ले मोडलगायत स्थानमा सडक अवरुद्ध भएको थियो। सडक डिभिजन कार्यालय जुम्लाले मेसिन तथा प्राविधिक टोली परिचालन गरी पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएको हो।
सडक डिभिजन कार्यालयका अनुसार पिली खण्डमा ग्याबिनसहितको पर्खाल निर्माण गरी सडक खुलाइएको हो। तर गगनेखोलामा पहिरो सफा गर्ने काम अझै जारी रहेकाले मौसम अनुकूल भए मंगलबार दिउँसोसम्म कर्णाली राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
भदौ महिनामै कालिकोट–जुम्ला खण्डमा साना–ठूला गरी १० भन्दा बढी पहिरो गइसकेका छन्। निरन्तर वर्षाका कारण थप लेदो तथा ढुंगा खस्ने जोखिम रहेकाले सडक पूर्ण रूपमा सुरक्षित नभएसम्म यात्रुहरूलाई सावधानी अपनाउन आग्रह गरिएको छ।



