
दैलेख, भदौ २४ । पहिरो पन्छाएर सञ्चालनमा आएको केही घण्टामै कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ। दैलेखको दुल्लु नगरपालिका–१ स्थित भम्लु खोलामा मंगलबार राति सुक्खा पहिरो खसेपछि सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध भएको हो।
भदौ २० गतेदेखि कालीकोटको पिली, गगने खोला र एस मोडमा पहिरो खसेर अवरुद्ध भएको राजमार्ग ती स्थानको पहिरो पन्छाएपछि मंगलबार दिउँसो मात्रै सञ्चालनमा आएको थियो। तर राति भम्लु खोलामा पुनः पहिरो खसेपछि सडक बन्द भएको हो।
पहिरो पन्छाएर यातायात सञ्चालन गर्न प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ। सडक डिभिजन कार्यालयसँग समन्वय गरी पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
राजमार्ग अवरुद्ध हुँदा हुम्ला, मुगु, जुम्ला र कालीकोटबाट सुर्खेत, नेपालगन्ज तथा काठमाडौं जाने यात्रु र सवारीसाधन प्रभावित भएका छन्।



