
नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिप २०२३ मा सान्तवना जित दर्ता गरेको छ । अन्तिम खेलमा पाकिस्तानलाई १–० ले पराजित गर्दै नेपालले १५ वर्षपछि पाकिस्तानसँग जित निकालेको हो ।

२००८ पछि नेपालले पाकिस्तानलाई हराउन सकेको थिएन।
बेन्चबाट दोस्रो हाफमा मैदान छिरेका विंगर आशिष चौधरीले खेलको अन्त्यतिर गोल गर्दै नेपाललाई जित दिलाए। सुरुवाती दुई खेलमा हार बेहोरेपछि बाहिरिएका नेपाल र पाकिस्तानका लागि अन्तिम खेल प्रतिष्ठाको लडाई थियो ।

नेपाल पहिलो खेलमा कुवेतसँग ३-१ र भारतसँग २-० ले पराजित भएको थियो । पाकिस्तानले भने दुवै खेलमा ४-० को हार बेहोरेको थियो । ८० औं मिनेटमा आशिष चौधरीले नेपाललाई अग्रता दिलाए । लाकेन लिम्बुले पेनाल्टी क्षेत्र बाहिरबाट मिलाइदिएको पासलाई आशिषले गोलमा परिणत गरे ।
यस समूहबाट भारत र कुवेत सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । यी दुईबीच समूह विजेता बन्न आज साँझ ७:४५ बजे प्रतिस्पर्धा हुनेछ ।