महिला क्रिकेटमा मलेसियालाई हराउँदै नेपालले टीट्वान्टी शृंखला जित्यो

महिला टीट्वान्टी क्रिकेट शृंखलाको निर्णायक खेलमा नेपाली टोली विजयी भएको छ । शृंखलाको पाँचौं तथा अन्तिम खेलमा आइतबार नेपालले मलेसियालाई तीन विकेटले पराजित गर्यो । जितसँगै भ्रमणकारी टोली नेपालले पाँच खेलको शृंखला पनि ३—२ ले जित निकालेको छ ।

अन्तिम खेलअघि शृंखला २—२ को बराबरीमा थियो । अन्तिम खेलमा टस हारी पहिलो ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय नौ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली नेपालले भने १९.२ ओभरमा सात विकेट गुमाएर एक सय १० रन बनाउँदै विजयलक्ष्य पूरा गर्यो ।

पहिलो ब्याटिङ गरेको मलेसियाका लागि ओपनर वान जुलियाले ४७ रनको योगदान गरिन् । उनले ६० बलको सामना गरी तीन चौका पनि हिर्काइन् । अर्की ओपनर विनिफ्रेड एनी दुराइसिंगमले पनि २४ रन बनाइन् । उनले २५ बलको सामना गरी चार चौका हिर्काइन् ।

दुबैजनाले ओपनिङ विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएकी माहिराह इजाती इस्माइल ३१ बलमा एक चौकाको मद्दतले २० रन जोडिन् । मलेसियाले अतिरिक्त रुपमा १२ रन पाएको थियो । नेपालकी बलर कविता जोशीले दुई र ईश्वरी बिष्टले एक विकेट लिएका थिए ।

नेपालले अतिरिक्त रुपमा आठ रन पाएको थियो । मलेसियाका बलर आइना हमिजाहले दुई तथा माहिरा इजाती, विनिफ्रेड, आसिया एलिसा र नुर दानियाले एक÷एक विकेट लिएका थिए ।