
वैशाख १२, जुम्ला । जुम्ला रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर कुँवर र मञ्जु रावतले पाएका कछन् । पुरुषतर्फ दलबहादुरले ४९ किलोमिटर दुरीको जुम्ला रारा अल्ट्रा म्याराथन ४ घण्टा ५४ मिनेट १० सेकेन्डमा पार गर्दै स्वर्ण विजेता बनेका हुन् । यता महिलातर्फ मञ्जुले ६ घन्टा ६ मिनेट २४ सेकेन्डमा पार गर्दै स्वर्ण विजेता बनिन् ।

तेस्रो जुम्ला–रारा म्याराथनमा द्वितीय भएका दलबहादुर कुँवर जुम्लाको तातोपानी ७ निबासी हुन् । पुरुषतर्फ द्वितीय स्थान धीरबहादुर बुढा र तृतीय स्थान शेरबहादुर बुढाले ओगटेका छन् । उनीहरुले क्रमश : ४ घन्टा ५७ मिनेट ५७ सेकेण्ड र ५ घण्टा ८ मिनेट ४१ सेकेन्डमा तोकिएको दुरी पार गरेका थिए । यसैबीच ५ घन्टा २६ मिनेट ५५ सेकेन्ड लगाएर लालचन्द्र रावत चौथो, ५ घन्टा ३३ मिनेट ८ सेकेन्डमा दुरी पार गर्दै सोमबहादुर रावतले पाँचौ स्थान प्राप्त गरेका छन् ।
चौथो अल्ट्रा म्याराथनको महिलातर्फको उपाधि जुम्लाकै मञ्जु रावतले उचालेकी छन् । उनले ६ घन्टा ६ मिनेट २३ सेकेन्डमा निर्धारित दुरी पार गरिन् । ६ घन्टा ५४ मिनेट २७ सेकेन्डमा दुरी पार गर्दै गंगा भण्डारी द्वितीय र ७ घन्टा ५ मिनेट ४६ सेकेन्ड लगाएएर अनिता बुढा तृतीय भएको आयोजक कर्णाली स्पोर्ट्स क्लब जुम्लाले जनाएको छ ।

७ घन्टा ५५ मिनेट ३९ सेकेन्ड लगाएर उमाकली बुढा चौथो र ७ घन्टा ५९ सेकेन्ड १५ मिनेटको दुरी पार गर्दै कुशाबुढा रोकायाले पाँचौ स्थान प्राप्त गरिन् । म्याराथनमा उपाधि जित्ने पुरुष, महिला सबै जुम्लाका हुन् ।
जुम्ला–रारा अल्ट्रा म्याराथनमा महिला पुरुष दुवैतर्फका प्रथम द्वितीय तृतीय हुने खेलाडीले क्रमशः नगद १ लाख, ७५ हजार ५० र चौथो र पाँचौ हुने खेलाडीले २०/२० हजार नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् । जुम्लाको चन्दननाथ मन्दिरबाट सुरु भएको म्याराथन रारा तालको हुटुमा पुगेर सकिएको थियो ।
उनीहरुलाई रारातालमा औपचारिक कार्यक्रम गरेर पुरस्कार प्रदान गरिएको क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए । म्याराथनमा ४९ किलोमिटरमा ७० जनाले नाम दर्ता गराएकोमा ५१ जना मात्रै दौडमा सहभागी थिए । अमेरिकाका २, भारतका १, आयरल्यान्डका १ र बेलायतका १ जना खेलाडीले भाग लिएका कर्णाली खेलकुद क्लब जुम्लाले जनाएको छ ।