सन्दीप लामिछानेको विश्व कीर्तिमानी : बने १०० विकेट लिने विश्वका पहिलो बलर

नेपाली स्पीनर सन्दीप लामिछाने कम खेलमा नै १०० विकेट लिने विश्वका पहिलो बलर बनेका छन् ।

एसीसी प्रिमिअर कपको ओमान विरुद्धको जारी खेलमा अदिल शफिक को विकेट लिएसँगै उनले यो उपलब्धि हात पारेका हुन् । उनले ४२ खेल खेलेर १०० विकेटको कोशेढुङ्गा पूरा गरेका हुन् । लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १०० विकेट लिने नेपालको पहिलो बलर पनि बनेका छन् ।

१३औँ ओभरमा क्रिजमा ल्याइएका लामिछानेले आफ्नो ओभरको तेस्रो बलमा नै १३ रन बनाएर खेलिरहेका शफिकलाई एलबीडब्लुको धरापमा पारेका थिए।

सन्दिप लामिछाने
उनले विकेट लिने वित्तिकै मैदानमा रहेका नेपाली टोलीका सहयात्रीहरूले काँधमा उठाएर उनको कीर्तिमानको खुसीयाली मनाए।

समर्थकहरूले पनि ‘बधाई सन्दीप’ लेखेको ब्यानर प्रदर्शन गरेका थिए । सोही ओभरमा लामिछानेले अर्को विकेट पनि लिए । ओभरको अन्तिम बलमा उनले जीसन मक्सुदलाई बोल्ड गरेका थिए।

१५ औँ ओभरमा फेरि उनले पहिलो बलमै अर्को विकेट लिए। २५ रन बनाएर क्रिजमा जमिरहेका कश्यप प्रजापतिलाई लामिछानेले फेरी एलबीडब्लुको सिकार बनाएर तेस्रो विकेट हात पारे ।

यो सँगै जारी खेलमा लामिछानेले ३ विकेट लिइसकेका छन्।

यसअघि गत महिना कीर्तिपुर क्रिकेट मैदानमा भएको आइसीसी विश्वकप लिग-२ को अन्तिम खेलमा लामिछानेले मोहम्मद वासिम (६३ रन)लाई एलबीडब्लुको धरापमा पारेपछि विकेट सङ्ख्या ९९ पुर्‍याएका थिए।