वर्तमान सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताएका छन् ।

शनिवार काठमाडौंमा राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको खेलकुद पूर्वाधार नीति संवाद २०७९ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताएका हुन् ।

उनले खेलाडीहरूलाई पुरस्कृत गर्ने, मैदानमा नै पुगेर खेलाडीहरूको मनोबल बढाउने, खेल क्षेत्रसँग सम्बन्धित विषयहरूमा आफूले सदैव सहभागिता जनाउने धारणा राखे । उनले प्रत्येक विद्यालय र प्रत्येक टोलमा खेल इकाई र खेल मैदान बनाएर तल्लो तहदेखि नै खेलाडी उत्पादन र विकास गर्न सकिने उल्लेख गरे ।

पछिल्लो समय नेपालले खेलकुद प्रतियोगितामा सफलता हासिल गरेको भन्दै उनले खेलाडी उत्पादन, पूर्वाधार विकास र खेलाडीहरूको वृत्ति विकासमा ध्यान दिन सकेमा नेपालले खेल क्षेत्रमा ठूलो फड्को मार्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले संघीय निजामती ऐन लगायतका ऐनहरू छिटो पारित गरेर संविधानको व्यवस्थित कार्यान्वयनमा जाने पनि बताए ।