विश्वकप छनोट चरणमा पुगेको नेपाली क्रिकेट टिमलाई नेपाली कांग्रेसको बधाई तथा शुभकामना

आइतबार, चैत ५, २०७९
काठमाडौं । नेपाली कांग्रेसले आईसीसी एकदिवसीय विश्वकपको छनोट चरणमा स्थान सुरक्षित गरेको नेपाली क्रिकेट टिमलाई बधार्ई तथा शुभकामना दिएको छ ।

नेपालले गएको बिहीबार युनाइटेड अरब इमिरेट्स् (यूएई)लाई डकवर्थ लुइस पद्धतिअनुसार नौ विकेटले हराउँदै आईसीसी क्रिकेट विश्वकप लिग-२ को शीर्ष तीनमा रहेर जिम्बाब्वेमा हुने विश्वकप छनोट प्रतियोगितामा स्थान पक्का गरेको छ ।

आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट क्रिकेट टिमलाई बधाई दिँदै र आउँदो खेलका लागि शुभकामना दिइएको प्रवक्ता डा. प्रकाशरण महतले जानकारी दिएका छन् ।