
आईसीसी क्रिकेट विश्वकप लिग टूमा तेश्रो हुँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेका छन् । प्रधानमन्त्री प्रचण्डले खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीले भने, ‘यसअघि पनि सरकारले तपाईँहरूलाई जनही दुई लाख राशीले पुरस्कृत गरिसकिएको छ । आज म तपाईँहरूलाई जनही तीन लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गर्दछु ।’
स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक शृंखला जिते लगत्तै गत महिना खेलाडीलाई प्रधानमन्त्रीले बालुवाटारमै बोलाएर सम्मान गर्दै जनही २ लाख दिने घोषण गरेका थिए । अहिले फेरि यूएई र पपुवा न्युगिनी सम्मिलित शृंखला जितेको र विश्वकप छनोटमा पुग्न सफल टिमले प्रधानमन्त्रीले जनही ३ लाख दिने घोषणा गरेका हुन् ।

जस अनुसार अब खेलाडीले गत महिनाको घोषित र अहिले घोषित गरी ५ लाख रुपैयाँ नगद पुरस्कार पाउने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले बताए ।