
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध डकवर्थ लेविस पद्धतिअनुसार ९ रनले जितेपछि नेपाली सिनियर क्रिकेट टोलीले एकदिवसीय विश्वकप ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले यूएईले दिएको ३ सय ११ रनको लक्ष्य भेट्टाएको हो । ४४औं ओभरमा ६ विकेटको क्षतिमा २ सय ६९ रन हुँदा खराब प्रकाशका कारण अम्पायरले खेल रोकेका थिए । यसपछि डकवर्थ लेविस पद्धतिका आधारमा नेपाललाई ९ रनले विजयी घोषित गरियो । योसँगै नेपालले दोस्रोपटक सिरिजमा चारै खेल जित्न सफल भयो ।
यो नतिजा सार्वजनिक भएलगत्तै नेपाली क्रिकेट टोलीका साथै त्रिवि मैदान वरिपरि भएका अपार समर्थकले खुशीयाली मनाए । यद्यपि, अम्पायरको निर्णयप्रति यूएईका खेलाडीले असुन्तष्टि जनाए । तर, पछि यूएईका खेलाडी र नेपाली खेलाडीले एक अर्कासँग हात मिलाएर नतिजा स्विकार गरे ।

नेपालका लागि यो खेल जित्नै पर्ने थियो । लिग २ मा स्कटल्यान्ड (५० अंक), ओमान (४४ अंक) र नामिबिया (३९ अंक) शीर्ष तीनमा थिए । ३८ अंक जोडेको नेपालले यो खेल जितेर तेस्रो स्थान हासिल गर्नुपर्ने लक्ष्य थियो । नेपालले सोचेअनुसार जित हासिल गर्दा ४० अंक बनाउँदै तेस्रो स्थान हासिल गर्न सफल भयो । लिग २ बाट शीर्ष तीन टोली सीधै विश्वकप ग्लोबल छनोटमा जाने प्रावधान रहेको छ ।
जवाफमा घरेलु टोली नेपालले शानदार ब्याटिङ प्रस्तुत ग¥यो । नेपालका लागि कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख र गुलशन झाले अर्धशतकीय इनिङ खेले । कुशल ५० रनमा आउट भए भने भीमले ६७ रन जोडे । खेलका मुख्य आकर्षण गुलशनको आकर्षक ब्याटिङ थियो । फास्ट बलर करण केसीको स्थानमा आएका गुलशन तुरुपका एक्कासमेत सावित भए ।
ग्लोबल छनोटमा १० टोली
आईसीसी क्रिकेट विश्वकप ग्लोबल छनोट जिम्बावेमा हुँदै छ । यो छनोट प्रतियोगिता यही वर्ष १८ जुनदेखि ९ जुलाईसम्म हुनेछ । यसमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा, नेपालसहित ओमान, स्कटल्यान्ड, नेदरल्यान्डस् र आयोजक टोली जिम्बावे छनोट भएका छन् ।
प्लेअफ छनोट प्रतियोगिता नामिबियामा यही २४ मार्चबाट शुरू हुनेछ । जसबाट १० टोलीमा शीर्ष दुई स्थानमा आउने दुई टोलीले विश्वकप २०२३ मा खेल्न पाउनेछन् ।