दाइजोमा सिक्री नपाएपछि मण्डपमै बिहे अस्विकार, बेहुला, दाई र भिनाजु नियन्त्रणमा

वीरगन्जमा बेहुलाले दाइजोमा सुनको सिक्री नपाएपछि मण्डपमै विवाह अस्वीकार गरेका छन् । सुनकाे सिक्री माग गर्दै मण्डपबाटै बेहुला उठेपछि विवाद सिर्जना भएको थियो । बेहुलाले सुनको सिक्रीको लागी बिबाह अस्विकार गरेपछि विबाहमा उपस्थित स्थानीयले प्रहरीलाई खबर गरे । सोमबार राति करिब साढे १ बजेको समयमा वीरगन्ज महानगरपालिका-२४ रामगढवास्थित बेहुलीको घरमा पुगेर प्रहरीले बेहुला, बेहुलालाइ सहयाेग गर्न अाएका उनका दाइ र भिनाजुलाई नियन्त्रणमा लिएको थियो । बेहुला वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कम्प्युटर अपरेटर पदमा कार्यरत छन् ।

बाराको कलैया उपमहानगरपालिका-४ स्थित गुप्ता सिनेमा चोक निवासी उमेश साह गोढको छोरा बच्चालाल साह गोढले सोमबार करिब १० बजेतिर समयमा जन्ती लिएर वीरगन्जको रामगढवा पुगेका थिए । स्थानीयका अनुसार मधेशी रीतिरिवाज बमोजिम बेहुलाको परछावन र बरमाला हुँदासम्म कुनै विवाद भएको थिएन । जन्तीले सहज तरिकाले नास्ता र खानासमेत खाएका थिए ।

स्थानियका अनुसार जब बेहुला र बेहुली मण्डपमा बसे तब बेहुलाले अनेक बहाना गर्न थाले,’ कहिले मेरो दाइको इज्जत भएन त कहिले मेरो भिनाजुको इज्जत नभएको भन्दै बेहुला मण्डपबाट उठ्न बहाना खोज्दै थिए ।’ केही समयपछि उनले सुनको सिक्रीको माग राखे । ‘सुनको सिक्री नपाउन्जेल विवाह अगाडि नबढाउने अड्डी कसे,’ ‘केही समयपछि नै सिक्री नपाएकाले विवाह नगर्ने भन्दै मण्डपबाट बेहुला उठे ।’

बेहुला मण्डपबाट उठेपछि बेहुलीका आफन्तले रोक्ने प्रयास गर्दा विवाद भएको थियो । मण्डपमा अचानक सुनको सिक्री मागेकाा बेहुलाले दाइजोमा यसअघि नै १२ लाख नगद, मोटरसाइकल खरिदका लागि ३ लाख २५ हजार रुपैयाँ, ७५ हजारको ल्यापटप र एउटा सुनको औंठी लिइसकेको बेहुलीको परिवारले जनाएका छन् ।

बेहुलीका बुवा सुखल साहले छोरीले राम्रो घरपरिवार पाइन् भनेर ऋण खोजेर भए पनि दाइजोको व्यवस्था गरेको बताउँछन् । ‘जन्तीको स्वागतमा समेत कुनै कमी कमजोरी हुन दिएका थिएनौँ,’ उनले भने, ‘अचानक सिक्रीको डिमान्ड भएपछि अहिले पैसाको व्यवस्था हुन सकेन, बिहेपछि दिन्छौँ भनेका थियौँ । तर, पनि उहाँहरू मान्नु भएन । ’विवाद भएपछि बेहुलालगायत ३/४ जनालाई राति प्रहरीले नियन्त्रणमा लिएको उनले खुलाए