बाँकेको नेपालगंजबाट ठुलो परिणाममा अबैध नेपाली र भारतिय रुपैया सहित ८ जना पक्राउ

बाँकेको नेपालगंन्जमा डेढ करोड रुपैयाँ सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार र सोमबार नेपालगन्जबाट स्रोत नखुलेको ठूलो परिणाममा नेपाली र भारतीय रुपैयाँ बरामद गरेको हो । दुई दिन गरेर एक करोड ३० लाख ४८ हजार सात सय नेपाली र १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरिएको बाँकेका प्रमुख एसपी सुवासचन्द्र बोहराले जानकारी दिए ।

आइतबार ३९ लाख २० हजार रुपैयाँसहित राजपुर १ बर्दियाका अनुप थारु, पूर्णिमा चौधरी र नेपालगन्जका हफिक अहमद पक्राउ परेका थिए । स्रोत नखुलेको रकम रहेको सूचनाका आधारमा प्रहरीले सोमबार बसपार्क स्थित सन्तोष दङ्गेली होटेलको एक कोठामा छापा मारेर ५७ लाख २८ हजार सात सय नेपाली रुपैयाँ बरामद गरेको थियो ।

होटेलका सञ्चालक कृष्ण विक, नेपालगंन्जका रोहित क्षेत्री र भारतीय नागरिक राहुल जैसवाललाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । उनीहरुको साथबाट भारतीय रुपैयाँ ११ लाख रुपैयाँ पनी बरामद गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै, बसपार्कस्थित होटेल रोयल कर्णालीबाट नेपालगन्जका सलिम जोलाहा र हसिक अन्सारी परेका छन् । उनीहरुको साथबाट ३४ लाख नेपाली रुपैयाँ र चार लाख ४० हजार भारतीय रुपैयाँ बरामद भएको छ । बरामद रकम हुण्डी कारोबारको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, पुष्टि भई नसकेको प्रहरीले जनाएको छ ।