आफ्नै मृत्यु दर्ता गरेपछी प्रहरीद्धारा पक्राउ

नवलपरासीमा किर्ते कागजात पेश गरी आफ्नै मृत्यु दर्ता प्रमाणपत्र बनाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

वडा कार्यालय र जिल्ला प्रहरी कार्यालयको नक्कली लेटर प्याड र छाप प्रयोग गरी किर्ते मृत्यु दर्ता प्रमाणपत्र बनाउने रुपन्देहीको रोहिणी गाउँपालिका-४ छिपागढ घर भएका ४४ वर्षीय शिवनारायण सिंह लाई प्रहरीले पक्राउ गरेको हो ।

तान्त्रिक विद्या सिकाउने र झारफुकसमेत गर्दै आएका सिंह विगत ३ वर्षदेखी नवलपरासी बर्दघाट नगरपालिका-१४ गंगाबस्तीस्थित गंगा माविअगाडी कान्छी श्रीमतीसँगै क्यान्टिन सञ्चालन गर्दै आएका थिए ।

आफू जिउँदो छँदै उनले २०६९ माघ ५ गते कालगतीले मृत्यु भएको किर्ते मृत्यू दर्ता प्रमाण पत्र बनाएको प्रहरीले दाबी गरेको छ । ‘२०६९ माघ ५ गते शिवनारायण सिंहको असामयिक निधन भएकाले उक्त विवरण प्रमाणित गरिन्छ,’ रोहिणी गाउँपालिका-४ का वडाध्यक्ष तारानाथ यादवको किर्ते हस्ताक्षर प्रयोग गरी बनाइएको नक्कली प्रमाणपत्रमा उल्लेख छ ।

त्यस्तै सिंहले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नक्कली लेटर प्याड बनाएर आफ्नो मृत्यु भएको किर्ते सतगत पुर्जीसमेत बनाएको सूचना अधिकारी पन्थीले बताए । किर्ते कागजपत्र बनाएर राखेको भन्ने सूचनाका आधारमा उनी बसोबाससमेत गर्दै आएको क्यान्टिनमा खानतलासी गर्दा उक्त कागजात फेला परेको पन्थीले जानकारी दिए ।

प्रहरी अभिलेखअनुसार उनी २०६४ सालमा नवलपरासीबाट हातहतियार खरखजना मुद्दामा थुनामा परी सजाय काटेको देखिएको छ । लामो समयदेखि उनी भारतमा रोजगारी गरेर फर्केको प्रहरीले जनाएको छ ।

किर्ते मृत्यु प्रमाणपत्र बनाउनुको कारणबारे सिंहले प्रहरी समक्ष केही बताएका छैनन् । भारतमा लामो समयदेखि काम गरेका कारण त्यहाँ कुनै आपराधिक कृयाकलाप गरेको हुन सक्ने र त्यहाँ रहेको प्रमाणलाई नष्ट गराउने उद्देश्यले उक्त कागज बनाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

पक्राउ परेका सिंहलाई लिखित सम्बन्धी कसुरमा मुद्दा प्रक्रिया अघि बढाइएको सूचना अधिकारी पन्थीले जानकारी दिए ।