कक्षाकोठामा फर्निचर अभावका कारण मुगुका १ सय बढि विद्यालयको वार्षिक परीक्षा चउरमै गराउनुपर्ने बाध्यता

चैत ८, मुगु । मुगुका अधिकांश विद्यालयमा कक्षाकोठा र फर्निचर अभावले एसईईबाहेक अन्य सबै परीक्षा चउरमै गराउनुपर्ने अवस्था सिर्जना भएको छ ।

मुगुका सबै स्थानीय तहका विद्यालयमा आइतबारदेखि वार्षिक परीक्षा चलिरहेको अवस्थामा कक्षाकोठामा डेस्क बेन्च नहुँदा विद्यार्थी खुल्ला चउरको धुलोमै परीक्षा दिन बाध्य भएका छन । पूर्वाधार अभावका कारण चउरमै परीक्षा गराउनुपरेको शिक्षकहरूको पनि भनाइ छ ।

वार्षिक परीक्षाजस्तो संवेदनशील विषय चउरमा गराउनु लापरबाही भएको स्थानीय अभिभावक कमानबहादुर शाहीले बताए । ‘एक त विद्यार्थीले नयाँ पुस्तक नआउँदा पुराना पुस्तक पढेर परीक्षा दिएका छन्, त्यसमा पनि अधिकांश विषयको कोर्स पूरा भएको छैन,’ उनले भने, ‘झन् लापरबाही परीक्षा गराउँदा भयो, चउरको धूलोमा बसेर चारैतिरको होहल्लामा विद्यार्थीले जानेकै कुरा पनि कसरी लेख्न सक्छन ?’