जाजरकोटमा असिना पानीले अन्नबाली, तरकारी र फलफुन नष्ट

चैत ७, जाजरकोट । दुई दिनदेखि मौसम परिवर्तन भएसँगै आइतबार र सोमबार परेको असिनापानीले जाजरकोटका पहाडी भूभागमा अन्नबाली, तरकारी र फलफुल नष्ट गरेको छ ।

हिउँदे खडेरीमा दुःखले हुर्काएको बाली लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली नसप्रेको अवस्थामा पाक्नै लागेको गहुँ र जौं हिउँदेबालीसमेत असिनाले नाश गरिदिएपछि किसान चिन्तित छन् ।

खेतबारीमा लगाएको गहुँ, तोरी, केराउ, जौं, उवालगायत भित्र्याउने समय भइसकेका हिउँदेबालीमा असिनाले क्षति गरेको छ । भर्खरै उम्रँदै गरेको बेमौसमी तरकारी सिमी, आलु, काँक्रो, घिरौलालगायतका तरकारी र अन्न बालीका बिरुवासमेत क्षति पुगेको दम्दालाका किसान कृष्णबहादुर मल्लले बताए ।

त्यसैगरी सुन्तला जातका फलफूल र केरा खेतीमा पनि असिनाले क्षति पुर्‍याएको छ । असिनाले गरेको क्षतिको विवरण संकलन भइरहेको छेडागाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगबहादुर रोकायले बताए ।