भिजिट भिसामा बेलारुस पुर्‍याइएका ९ जना महिला ३५ हजार डलरमा बेचिए

पीडित ९ जना महिला भिडिओकलमा

चैत्र ३, काठमाडौं । भिजिट भिसामै बेलारुस पुर्‍याइएका ९ जना महिला बेचिएको पाइएको छ ।

वसुन्धरामा रहेको ‘एभरेस्ट गोल्डेन फाउन्डेसन’ नामको म्यानपावर कम्पनीले आकर्षक सेवा सुविधाको प्रलोभन देखाउँदै आफूहरूलाई बेलारुस पुर्‍याई ३५ हजार डलरमा बेचेको पीडितले बताएका छन् ।

अत्यन्तै थोरै पारिश्रमिक दिएर १४ घण्टाभन्दा बढी काममा लगाइएको पीडितको भनाइ छ । बेलारुसमा बन्धक बनाइएकामा नुवाकोटकी सानुमाया तामाङ, रामेछापकी कविता थापा मगर, रामेछापकी अञ्जना मगर, धनकुटाकी रत्नमाया राई, मकवानपुरकी पार्वतीमाया तितुङ, भोजपुरकी रमिता राई, काभ्रेपलान्चोककी सुष्मा तामाङ, चितवनकी मिना गुरुङ र मोरङकी मार्था सोताङ राई छिन् ।

उनीहरूलाई ३ महिनाअघि नेपालबाट बेलारुस लगिएको थियो । कम्पनीले आफूहरूलाई नागरिकता र पासपोर्ट कब्जामा राखेर नेपाल फर्कन नदिएको नुवाकोटकी सानुमाया तामाङले बताइन्। एभरेस्ट गोल्डेन फाउन्डेसन मेनवापरलाई १० लाख रुपैयाँ बुझाएको र उनीहरूले भिजिट भिसामा लगेको उनले बताइन् ।

आफूहरूले मेनवापर कम्पनीलाई बुझाएको २५ हजार डलर फिर्ता नपाएसम्म स्वदेश फर्कन नदिने भन्दै बन्धक बनाएको पीडितको गुनासो छ ।

कम्पनीले आफूहरूको पासपोर्ट कब्जामा राखेर नेपाल फर्कन नदिएको र आफूहरूले पैसा दिए मात्र फर्कन दिने बताएको पीडितले बताए ।

पीडितहरू तीन महिनादेखि उचित पारिश्रमिक, खाना, आवास तथा सुरक्षाको अभावमा दर्दनाक परिस्थितिको सामना गरिरहेका छन् ।

बेलारूसबाट उनले भिडिओकलमा भनिन्, ‘‘हामीलाई १४ घण्टा काममा लगाएको छ। घण्टाको सवा ३ रुपैयाँ डलर दिन्छु भनिएको थियो। त्यसको आधा पनि दिइएको छैन। हामी घर फर्कन्छौँ भन्दा कम्पनीको मालिकले ३५ हजार डलरमा किनेको भन्दै सबै पैसा तिरेपछि मात्रै स्वदेश फर्कन दिने बताएको छ। स्वदेश फर्कन पनि दिएको छैन। हामीलाई जेल हाल्ने धम्की दिइरहेको छ।’’

बेलारूसको फेसन फ्याक्ट्रीमा काम गर्नका लागि पठाइएका उनीहरूलाई पठाउने व्यक्तिले मेनपावरले दक्ष कामदारको रूपमा कागजात बनाई पठाएको छ। तर कम्पनीले भने कार्यक्षमताको अभाव रहेको भन्दै उचित पारिश्रमिक नदिएको बताउँदै आएको छ।

मोरङकी मार्था सोताङले भनिन्, ‘‘पाँच छ घण्टामा ६० वटा सर्ट सिलाउँदा पनि कामको स्पिड पुगेन भन्छ। काम गरेर राति अबेर कोठामा फर्कनुपर्छ। कोठामा फर्कँदा गाडी पाइँदैन। हिँडेर आउनुपर्छ। बिहान चाँडै काममा जानुपर्छ। यस्तो काम गर्दैनौ हामी फर्किन्छौँ भन्दा हामीलाई फर्कन दिइएन।’’

कम्पनीले भिजिट भिसामा आफूहरूलाई लगेको पीडितहरूले बताएका छन्। प्रतिव्यक्ति ८ देखि १० लाख रुपैयाँ लिएको पनि उनीहरूले बताएका छन्। आफूहरूसँग पैसा नभएकाले ऋण खोजेर पैसा जुटाएकाले दबाबमा परेको पीडित महिलाहरूको गुनासो छ। उनीहरूले आफूलाई उद्धार गरेर स्वदेश फिर्ता गर्न र मेनपावर कम्पनीलाई कारबाहीकाे माग गरेका छन्। यस विषयमा उनीहरूलाई पठाउने ‘एभरेस्ट गोल्डेन फाउन्डेसन’ मेनवापर कम्पनीका सञ्चालक भने सम्पर्कमा आउन चाहेनन् ।

भिजिट भिसाका नाममा मानव तस्करी भइरहेको घटनाले वैदेशिक रोजगारी क्षेत्रका लागि ठूलो चुनौती बनेको छ। पछिल्लो समय भिजिट भिसाका नाममा रोजगारीको प्रलोभन देखाएर मानव तस्करी बढ्दो छ।

भिजिट भिसामा नेपाली सबैभन्दा धेरै युएई र कुवेत जाने गरेका छन्। पछिल्लो समय बेलारूसदेखि युक्रेन तथा युरोपमा अरू देशमा पुर्‍याइने गरेको छ। यी देशमा भिजिट भिसामा जाने नेपालीहरू आफैँ नभएर म्यानपावर, एजेन्ट र कन्सल्टेन्सीमार्फत जाने गरेका छन्।

आकर्षक कमाइको प्रलोभनमा भिजिट भिसामा युएईलगायतका मुलुकमा नेपाली नागरिकलाई दलालले पुर्‍याएर अलपत्र पार्ने क्रम बढेको छ। यो प्रवृत्तिलाई नियन्त्रण गर्न नसकेको सरकारले भिजिट भिसामा जाने व्यक्तिका हकमा केही नियम कडा बनाए पनि सोधा सीधा नेपालीहरू ठगिन छाडेका छैनन्।