अनुमतिबिनै रुकुम पश्चिमको पहरामा पिङ निर्माण

चैत १, रुकुम पश्चिम । रुकुम पश्चिमको सदरमुकाम मुसीकोट नगरपालिका-१ खलंगाको सल्लेमा प्राविधिक जाँच र अनुमतिबिना नै पिङ निर्माण गरिएको छ ।

साढे १ वर्षअघि खलंगा र सल्लेलाई जोड्न झोलुंगे पुलको निर्माण सम्पन्न भएपछि यस क्षेत्रमा घुम्नेहरूको चहलपहल बढ्न थालेको कुरालाई ध्यान दिँदै पुल नजिकै सानीभेरी गाउँपालिकाका इन्द्रबहादुर खड्काले उक्त पुल निर्माण गरेका हुन् ।

करिब १२ लाख रुपैयाँ लगानी गरेर पिङ स्थापना गरेको बताउँदै खड्काले आफूले पिङ बनाउँदा कुनै पनि प्रकारको प्राविधिक इस्टिमेट र परीक्षण नगरेको बताएका छन् । उनले भने, ‘मैले विभिन्न ठाँउमा बनाएका यस्ता पिङ हेरेर स्थानीय कामदार लगाएर बनाएको हु ।

पर्यटन वोर्डको प्राविधिक टोली आएर स्थालगत अध्ययन गरेर प्रतिवेदन तयार गरेर मात्रै सञ्चालनका लागि अनुमति दिने व्यवस्था छ । पर्यटन बोर्डबाट स्वीकृति लिएर मात्रै पिङ सञ्चालन गर्नुपर्ने प्रवधान रहेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त बताए ।

पिङ सञ्चालनबारे नगरपालिकामा कुनै पनि जानकारी नआएको मुसीकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले बताए ।