
फागुन ३०, सल्यान । सल्यानमा भरुवा बन्दुक पड्किँदा एक किशोरको मृत्यु भएको छ ।

बन्गाड कुपिन्डे नगरपालिका-९ स्वाराका १६ वर्षीय चित्रबहादुर रावत भरुवा बन्दुक पड्किँदा घाइते भएका रावतको उपचारको क्रममा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए ।
सोमबार राति बाहुनडाँडा जंगलमा सिकार खेल्न सँगै गएका स्थानीय ४० वर्षीय आइते रावतले बोकेको भरुवा बन्दुक एक्कासि पड्किँदा चित्रबहादुर रावतको मृत्यु भएको हो ।

रावतको पेट र घाँटीमा गोली लागेको थियो । गोली लागि घाइते भएका रावतको उपचारको लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत लैजाँदै गर्दा बन्गाड कुपिन्डे नगरपालिका-७ वरघाट नजिकै मृत्यु भएको प्रहरी निरीक्षक खनालले बताएका हुन ।
भरुवा बन्दुक बोकेका आइते रावत अहिले फरार सुचीमा छन् ।
मृतक चित्रको लासलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ ।
घटना बारे थप अध्ययन अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।