
मुख्य बाली खेतीपातीको मौसम शुरू हुन लाग्दा सरकारले रासायनिक मलको मूल्य अत्यधिक मात्रामा बढाएको छ ।
रासायनिक मल आयातमा सरकारले दिने अनुदान रकम घटाएर बजार मूल्य बढाउने निणर्य गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । युरिया मलको मूल्य तीन चौथाईले (करीब ७८ प्रतिशत) बढाइएको छ भने डीएपी र पोटासको मूल्य क्रमशः १६ र २९ प्रतिशतले बढेको छ ।

कृषि मन्त्रीको विभागीय निणर्यअनुसार, मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको फागुन २९ गतेको बैठकले आयात विन्दुमा युरिया मलको विक्री मूल्य प्रति केजी २५ रुपैयाँ पुर्याएको छ । यसअघि प्रतिकेजी १४ रुपैयाँ रहेको थियो ।
त्यस्तै, डीएपी मलको मूल्य प्रति केजी ५० रुपैयाँ पुर्याइएको छ, जुन यसअघि ४३ मात्रै थियो । पोटास मलको मूल्य पनि प्रति केजी ३१ बाट बढाएर ४० पुर्याइएको छ । नेपालमा कुल आयात हुने रासायनिक मलमध्ये डीएपीको हिस्सा ४२ प्रतिशत र पोटासको हिस्सा २ प्रतिशत छ ।
नेपालमा आयात हुने रासायनिक मलमध्ये युरिया मलको हिस्सा ५६ प्रतिशत छ । नाइट्रोजन लगायतका तत्व हुने धान, मकै जस्ता प्रमुख बालीका लागि युरिया मल प्रयोग हुन्छ । युरिया मलको मूल्य बढ्ने बित्तिकै यस्ता प्रमुख बालीको उत्पादनमा कमी आउँछ र बजार मुल्य बढ्न जान्छ ।

सरकारले यी रासायनिक मलमा दिँदै आएको अनुदान घटाएका कारण यसअघिको भन्दा बढी मूल्य तिर्नुपर्ने भएको छ । यसअघि युरिया मलमा सरकारले ८० प्रतिशत अनुदान दिँदै आएको थियो । तर, यो अनुदानलाई घटाएर ६४.५ प्रतिशतमा झार्ने निणर्य गरिएको हो ।