अमेरिकाबाट आएको पार्सल लिन जाँदा ६.९ किलो गाँजासहित ३ जना पक्राउ


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा आउने पार्सलमा प्रहरील चेक जाँच गर्दा ६.९ किलो गाँजा फेला पारेको छ ।

गत आइतबार क्यालिफोर्नियाको लस एन्जलसबाट दुबई हुँदै उक्त पार्सल काठमाडौंमा आइपुगेको थियो । जसमा चकलेट एन्ड चाइल्ड गेम आइटम लेखिएको थियो । उक्त पार्सल शंकास्पद देखिएपछि चकलेटका बट्टाभित्र ४.५ किलो गाँजा फेला परेको थियो ।

सोही दिन क्यालिफोर्नियाबाटै अर्को पार्सल होम डेकोर वाटर एन्ड चाइल्ड गेम आइटम उल्लेख गरिएको पार्सल पनि चेक जाँच गर्दा थप २.४ किलो गाँजा बरामद भएको लागुऔषध नियन्त्रण ब्युरोे प्रवक्ता एवं एसपी चक्रराज जोशीले जानकारी दिएका छन् ।

यसमा संलग्न रहेका ३ जना लाई प्रहरिले पक्राउ गरेको छ ।

पहिलो पार्सल लिन आएका भारत गुजरातका ३० वर्षीय निमेश अशोकभाइ दायानी र सर्लाही हरिहरपुर नगरपालिका-३ का २८ वर्षीय फैज आलमलाई पक्राउ गरेको छ भने दोस्रो पार्सल लिन आएका गोरखा गण्डकी गाउँपालिका-४ का २३ वर्षीय रूपक अर्याललाई नागार्जुन-१ खरीबोटबाट पक्राउ गरेको जोशीले बताएका छन् ।

पहिलो पार्सल लिन आएका अभियुक्त बस्ने ठमेलको होटलको कोठाबाट प्रहरीले अशोकभाइको राहदानी र एक लाख ४० हजार भारू रुपैयाँ पनि बरामद गरेको छ ।
उक्त गाँजा भारतमा अर्कै व्यक्तिलाई दिने तयारी रहेको र पक्राउ परेका व्यक्तिहरूलाई पनि केही रकम दिने भनेर पार्सल ‘रिसिभ’ गर्नेमात्रै जिम्मा दिइएको प्रहरिको प्रारम्भिक अनुसन्धानले बताएको छ ।

‘गाँजा नेपालमा प्रशस्त पाइन्छ । अमेरिकाबाट आएको पार्सल पनि धेरै होइन । थोरै मात्राको मात्रै छ । किन यसरी ल्याइयो भन्ने विषयमा हामी अनुसन्धान गर्दैछौं,’ जोशीले भने, ‘तर बरामद भएको गाँजा अलि फरक किसिमको छ ।
अमेरिकी पर्यटकलाई नै लक्षित गरी ल्याइएको हो कि भन्ने हाम्रो अनुमान छ’ ।

उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेको एसपी जोशीले बताएका छन् ।