ओलीले हामिलाई पाखा, राप्रपा र बिदेशीहरुलाई काखा लाए – माधब नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राप्रपा र विदेशीहरु प्यारो भएको बताएका छन् । ओलीले आफ्नै पार्टीभित्र सबैलाई अनुदार गरेपछि नेकपा विभाजित भएको र आफूले पनि नयाँ पार्टी बनाउन बाध्य भएको उनको भनाइ छ ।

‘अहिले तपाईँहरुलाई थाहा छ, केपी ओलीका लागि राप्रपा प्यारो छ । महन्थ ठाकुर प्यारा छन् । विदेशीहरु प्यारा छन्, उनका लागि’, नेपालले शनिबार राजधानीमा आयोजित कार्यक्रममा भने ।

सत्ताबाट बाहिरिनु परेको पीडाले बालकोटको बार्दलीमा बसेर ओलीले तथानाम गाली गरेको पनि उनले बताए । ‘त्यो के हो भने–प्रधानमन्त्रीबाट निकालेको पीडा बोलेको । पीडा धेरै भईसकेपछि त्यो मुखबाट बाहिर निस्कन्छ । कहिले त्यो भोमिट गरेर निस्कन्छ, कहिले शब्दबाट निस्कन्छ’, उनले भने, ‘तपाईहरु मध्ये कोही डाक्टर भए उपचार गरिदिनु भए हुन्छ । विचराको त्यो हालत छ ।’

ओलीमा कहिल्यै गल्ती नस्वीकार्ने र सबैलाई हेप्ने प्रवृत्ति रहेको नेता नेपाललले बताए ।