दैलेखको गुराँसमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

साउन, २७ गते, दैलेख । दैलेखको गुराँस गाउँपालिकाले ज्येष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ता वडाहरूबाटै वितरण गरेको छ । बेैंकमार्फत् सामाजिक सुरक्षा भत्ता हस्तान्तरण गर्ने नेपाल सरकारको नीति भएकोमा गुराँस गाउँपालिकाको बैंकको चाप, भुगोल, मौसम र ज्येष्ठ नागरिकको स्वास्थ्यलाई मध्यनजर गरि पालिकाको वडाहरुबाटै भत्ता हस्तान्तरण गरिएको हो ।

भत्ता वडा कार्यालयबाटै लिन पाएपछि आफू खुसी भएको सेवाग्राहीले बताएका छ्न् ।

“पहिला भत्ता गाविसबाट पाइन्थ्यो । संघीयता आएपछि गाउँपालिकाबाट दिन थाले, टाढा जानुपर्ने बाध्यता आयो ।, गुराँस ८ का ज्येष्ठ नागरिक लालबहादुर गैरेले भनें अहिले यहीँबाट पाइयो । उनले थपे टाढाबाट गाडिमा जाऊ, रिङ्गाटा लागेको हुन्छ । चिसो मौसम, बैंकमा लाइन लाग्नुपर्ने । त्योभन्दा त यो धेरै राम्रो ।”

सुदुरपश्चिम प्रदेशको अछामदेखि कर्णाली प्रदेशकै जाजरकोट र सुर्खेतसम्म फैलिएको गुराँस गाउँपालिकाको केन्द्र (बैंक भएको ठाउँ) रानीमत्ता पुग्न ज्येष्ठ नागरिकलाई कठिनाई हुने गरेको छ ।

भुगोलमा मात्रै ठूलो होइन, समुन्द्री सतहदेखि २ हजार ३०० भन्दा धेरै उचाइमा रहेको रानीमत्तामा चिसोको कारण बुढा बा-आमाको स्वास्थ्यमा समस्या हुने भएपछि यसो गाउँपालिका प्रवक्ता एवं गुराँस ८ का वडाअध्यक्ष दीपेन्द्र ओलीले गरिएको बताए ।

उहाँकाअनुसार ज्येष्ठ नागरिकहरूले वडाका जनप्रतिनिधि र कर्मचारीलाई मुञ्जुरीनामा दिएपछि बैंकसँगको सहकार्यमा रकम भुक्तानी गरिएको हो ।

गुराँस गाउँपालिकाले बैंकको घुम्ति शिविरमार्फत् वडामै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेकोमा हाल बैंकको तयारी नपुगेकोले सबै वडा कार्यालयमार्फत् सहज बनाइएको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसीको भनाई छ ।