काठमाडौंमा भाडामा बस्ने विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो

सरकारले काठमाडौंमा भाडामा बस्ने विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो वितरण गर्न आवेदन माग गरेको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले सूचना जारी गरी आवेदन खुला गरेको हो ।

लोपोन्मुख, आदिबासी जनजाति तथा दलित वर्गका विद्यार्थीले आवेदन दिन सक्नेछन् । काठमाडौं बाहिरबाट उपत्यकामा आएर स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने यी वर्गमा विद्यार्थीले आवेदन दिन पाउने भएका हुन् ।

त्यस्तै, यस्तो सुविधा सरकारी र सामुदायिक शिक्षण संस्थामा अध्ययनरतले पाउने छन् । एलपी ग्यासको बढ्दो मूल्यको समस्यामा राहत पुर्‍याउन विद्युतीय चुलो उपलब्ध गराउन लागिएको बताईएको छ ।

विद्यार्थीहरूले बिद्युतिय चुलो पाउन आगामी असार ९ गते भित्रमा आवेदन दिइ सक्नुपर्नेछ । अनिवार्य रूपमा अनलाइन फाराम भरेर इमेलमा आएको टोकन नम्बर निवेदनमा समावेश गरेर केन्द्रमा बुझाउनुपर्छ ।

आवेदन भर्नको लागि नागरिकताको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस तथा विद्यार्थी परिचयपत्र प्रतिलिपि र लोपोन्मुख आदिवासी, जनजाति तथा दलित वर्ग भएको खुल्ने परिचयपत्रको प्रतिलिपि पेस गर्नुपर्ने हुन्छ ।