मुक्तिनाथ मन्दिरमा अब देखी भेटी दान बैंक खातामा गर्ने

हिमालपारी रहेको जिल्ला मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरमा अब देखी बैंक खातामा भेटी दान जम्मा गर्न भएको छ ।

प्रभु बैंकले क्यूआर कोड सेवा सञ्चालन गरे पछि उक्त मन्दिरमा नगद कारोबारलाई विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रणाली प्रवर्द्धन गरिएको हो ।

नेपाल राष्ट्र बैंक पोखरा कार्यलयका प्रमुख रामशरण खरेलले नेपालको बैंकिङ क्षेत्रको आर्थिक कारोबारमा विद्युतीय माध्यममार्फत् सरलता र सहजता आएको जनाएका छन्।

उनले प्रभु बैंक र फोन-पेको संयुक्त पहलमा मुक्तिनाथ मन्दिर परिसर, बारागुङ मुक्ति क्षेत्रमा हुने भेटी दानको लागि नगदै बोक्नुपर्ने झन्झट हटेको समेत बताएका छन् ।

बैंकले सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकलाई समय सापेक्ष नवीनतम् बैंकिङ सेवा प्रवाहमा कटिबद्ध रहेको प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले बताएका छन् ।

राजु रानाले अत्याधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै समग्र भक्तजनहरूको चाहनालाई पहिलो प्राथमिकता सहित गुणस्तरीय एवं विश्वसनीय बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जानकारी दिए ।

प्रायः मठमन्दिरमा चढाइने भेटीका कारण नोटको आयु घट्ने गरेकाले नोट बचाउन पनि यो प्रविधिको प्रयोग उपयुक्त रहेको बैंकको बुझाइ रहेको छ ।