कुवेतबाट मिक्सरमा १०० ग्राम सुन लुकाएर ल्याउने एक जना यात्रु पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले विदेशबाट लुकाएर ल्याइएको १०० ग्राम सुनसहित एक जना यात्रु पक्राउ परेको छ ।

भन्सार कार्यालयले आज कुवेतबाट जजिरा एअरमा काठमाडौँ आएका रुपन्देहीका २८ वर्षीय यात्रुलाई नियन्त्रणमा लिएको छ ।

बिहान ७ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनले मिक्सरको भित्री भागमा फल्स बटम बनाएर १०० ग्राम सुन राख्यका थिए । लुकाएर ल्याइएको सुनलाई बाहिरबाट कालो टेपले बेरिएको राखिएको थियो । चेकजाँच गर्ने क्रममा सुन भेटिएपछि नियन्त्रणमा लिइएको भन्सार कार्यालयले जानकारी दिएको छ ।


भन्सार ऐन, २०६४ तथा आर्थिक ऐन, २०७८ अनुसार विदेशबाट नेपाल आउने नेपाली यात्रुले अधिकतम १०० ग्रामसम्म काँचो सुन लिएर आउँदा भन्सार कार्यालयमा घोषणा गरी भन्सार राजस्व तिर्नुपर्ने व्यवस्था रहेको छ ।

राजस्व तिर्दा १०० ग्राम सुनको १ लाख ५६५ रुपैयाँ राजस्व तिर्नु पर्छ । तर, ती यात्रुले भन्सार राजस्व छल्ने बदनियतका साथ भन्सार कार्यालयमा घोषणा नगरी सुन लुकाई छिपाई ल्याइएको छ ।