‘हेर्दा हेर्दै काँग्रेस के भएको ? कुनै राजनीतिक एजेण्डा र देश विकासको योजनानै छैन – ओली

कांग्रेसले राजनीतिक पार्टीको चरित्र गुमायो,लोकतन्त्रका लागि चिन्ताको विषय-केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्र गालीगलौजको पुलिन्दामात्र भएको बताएका छन् मंगलबार सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसमा बोल्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्र यस्तो दाबी गरेका हुन् ।

उनले नेपाली राष्ट्रपतिमाथि आरोप लगाएको र एमालेको राजनीतिक दस्ताबेज चोरेको आरोपसमेत लगाएका छ्न् ।

ओलीले भनेका छ्न् ‘नेपाली कांग्रेसको घोषणापत्र भन्ने शीर्षक बाहिर छ । भित्र गाली पुराण छ । यो तथानाम एमालेलाई गाली, धारे हात लाएर, सरापेको छ’, उनले भने, ‘नेपाली कांग्रेसले सरकार बनाउला भन्ने कत्रो सपना देखेका थियौं, नेकपा एमालेका कारणले हाम्रा सपनाहरु ध्वस्त भए । हाम्रो सपना ध्वस्त पार्ने त्यस्तो अपराधी हो नेकपा एमाले भन्ने लेख्छ चुनाव घोषणापत्रमा ?

अध्यक्ष ओलीले २०६२/०६३ मा सँगै आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसलाई सन्चो नहुनुको कारण सोध्नुपर्ने बेला भएको बताए ।

‘एमालेले हिमालका चुचुरामा चुच्चे रेल कुदाउने गफ गर्छ रे । हाम्रा खोला खोल्सीहरूमा ठूला पानी जहाज चलाउने गफ हान्छ रे घोषणापत्रमा लेखेको । के भएको नेपाली काँग्रेसलाई’, उनले भने, ‘एउटाले लेखेको भए पनि लेख भन्ने हुन्थ्यो। पार्टीको घोषणापत्र यति साह्रो बिसन्चो । सभ्यता, शिष्टता, मर्यादाको कुरा छैन । राष्ट्रपतिलाई शेरबहादुरलाई प्रधानमन्त्री बनाउन छोडेर केपी ओलीलाई किन प्रधानमन्त्री बनाएको भनेर घोषणापत्रमा लेख्छ । राष्ट्रपतिमाथि हमला गरेको छ । नेपाली कांग्रेसलाई सन्चो छ कि छैन ? एकपटक घोषणा गर्नुभन्दा अघि सोध्न मन लागेको छ ।’

केपी शर्मा

पार्टीको घोषणापत्रमा सभ्यता, शिष्टता, मर्यादाको कुरा नभएको र नेकपा एमालेको घोषणापत्र सारेको आरोपसमेत लगाए ।

‘राजनीतिक, संवैधानिक, कानूनी कुरा गर्नुपर्‍यो नि । अधिकांश घोषणापत्र त्यस्तै छ,’ उनले भने, ‘अर्को पाटो संविधानका राम्रा कुराहरु ठाउँठाउँबाट निकालेको छ । संविधानबाट टिप्दै राख्दै गरेको छ । अर्को पक्ष पनि छ । एमालेको घोषणापत्र नक्कल गरेर सारेको छ । चोर विद्यार्थीले चिट चारेझैँ ।’

उनले नेपाली कांग्रेससँग अहिले कुनै राजनीतिक एजेण्डा र देश विकासको योजनानै नभएको जिकिर गरे । कांग्रेसमा देश विकास, नीति, नियम, गिरिजाप्रसाद कोईराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको देहान्तसँगै सकिएको भान हुन थालेको उनले बताए ।

‘हेर्दा हेर्दै काँग्रेस के भएको ? काँग्रेसँग राजनीति छैन, सकियो । देश विकासको कुनै योजना र एजेण्डा छैन त्यो पनि सकियो । गिरिजाप्रसाद, कृष्णप्रसाद भट्टराई र गणेशमानजीहरुले आफू बित्दा काँग्रेसका नीति, विचार, सिद्धान्त सबै लिएर जानुभएछ । केही छैन अहिले काँग्रेससँग,’ उनले भने ।