मकवानपुरमा चट्याङबाट ६५ वर्षीय वृद्धको मृत्यु एक घाइते

मकवानपुर
मकवानपुरमा चट्याङमा परेर एक वृद्धको मृत्यु भएको छ भने एकजना घाइते आवस्थामा रहेका छन् । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका-८ का ६५ वर्षीय जीतबहादुर गोले रहेका छन् ।

गए राती वर्षासँगै आएको चट्याङ लागेर गोले गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिएका छन् । उनलाई उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बाटोमै निधन भएको बताइएको छ ।

उक्त चट्याङ लागेर इन्द्रसरोवर गाउँपालिका-२ का ६२ वर्षीया ठूलीमाया रुम्बा पनि घाइते आवस्थामा रहेकी छिन् । उनलाई उपचारको लागि ललितपुरको पाटन अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ ।