एकीकृत समाजवादीको घोषणापत्र : २०० युनिट बिजुली निःशुल्क, हरेक वडामा खेल मैदान र पार्क

सःअ

काठमाडौं । एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

निःशुल्क स्वास्थ्योपचार

एकीकृत समाजवादीले स्थानीय तहमा स्वास्थ्यलाई पहिलो प्राथमिकता दिने उल्लेख गरेको छ ।

‘स्थानीय सरकारको बजेटको एक नम्बर प्राथमिकतामा स्वास्थ्य उपचारलाई राखिने छ’,।

शिक्षामा सुधारको वाचा

माध्यमिक तहको शिक्षा पूरा गरेका विद्यार्थीका लागि सिक्दै र कमाउँदै (लर्न एन्ड अर्न) प्रणाली सुरु गर्ने प्रतिवद्धता एकीकृत समाजवादीको छ ।

मासिक पाँच हजार लिटर पानी निःशुल्क

एकीकृत समाजवादीले घोषणापत्रमा मासिक पाँच हजार लिटर पानी निशुल्क वितरण गर्ने उल्लेख गरिएको छ ।

२०० युनिट निःशुल्क बिजुली

स्थानीय सरकारमार्फत् हरेक घरपरिवारलाई वार्षिक रूपमा २०० युनिटसम्म विद्युत् महसुलमा छुट दिने प्रतिवद्धता एकीकृत समाजवादीको घोषणा पत्रमा उल्लेख छ ।

उद्यमशीलता विकासका योजना

उद्यमशीलता विकासका लागि विशेष योजना ल्याउने प्रतिवद्धता घोषणा पत्रमा छ । स्थानीय स्तरमा स्वरोजगार भएका १० जनालाई सम्मान गर्ने समेत उल्लेख गरिएको छ ।

हरेक वडामा खेलमैदान

एकीकृत समाजवादीले हरेक पालिकामा युवा विभाग र हरेक वडामा खेल मैदान बनाउने कार्यक्रम समेत ल्याएको छ ।

हरेक वडामा पार्क

हरेक वडामा खैल मैदान बनाउने कार्यक्रम ल्याएको एकीकृत समाजवादीले हरेक वडामा पार्क बनाउने समेत प्रतिवद्धता जनाएको छ ।

हरेक पालिकामा पुस्तकालय

असल पुस्तकले मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउने क्षमता राख्ने भन्दै एकीकृत समाजवादीले आफूले जितेका हरेक पालिकमा सुविधासम्पन्न पुस्तकालय निर्माण गर्ने प्रतिवलद्धता जनाएको छ ।

गाउँ शहर सफा बनाउने

एकीकृत समाजवादीले कुहिने र नकुहिने फोहोरको अलग अलग व्यवस्थापन गरेर सफा गाउँ शहर बनाउने प्रतिवद्धता जनाएको छ ।

हरेक पालिकामा गुरुयोजना बनाइ सडक

एकीकृत समाजवादीले गुरुयोजना बनाएर मात्र सडक बनाउने प्रतिवद्धता जनाएको छ । ‘हरेक पालिकाहरूले आफ्नो पालिकाभित्रका सडक र यातायातका लागि गुरु योजना बनाइ लागु गर्ने छन्, ।

ज्येष्ठ नागरिक क्लब

हरेक पालिकाहरूले ज्येष्ठ नागरिकहरूका लागि सुविधासहितका क्लबहरू निर्माण गर्ने योजना पनि घोषणा पत्रमा समेटिएको छ ।

हरेक पालिकामा श्रम विभाग

श्रमिकहरूको हितका लागि हरेक पालिकामा श्रम विभाग गठन गर्ने कार्यक्रम घोषणा पत्रमा रोखिएको छ ।

पानीका स्रोत संरक्षण

अन्धाधुन्ध निर्माण भइरहेका विकास संरचनाले पानीका स्रोत सुक्दै गइरहेको भन्दै एकीकृत समाजवादीले त्यसको संरक्षणको योजना ल्याउने प्रतिवद्धता जनाएको छ ।

आधुनिक प्रविधिको उच्चतम प्रयोग

स्थानीय सरकारलाई आधुनिक प्रविधिमैत्री बनाउने प्रतिवद्धता एकीकृत समाजवादीको छ । ‘पालिकाभित्रको जमिन, गुठी जमिन, सार्वजनिक जमिन इत्यादिको लगत तथा भूसूचना प्रणाली विद्युतीय माध्यममा राखिने छ,’ घोषणा पत्रमा भनिएको छ ।

भ्रष्टाचारमुक्त स्थानीय सरकार

एकीकृत समाजवादीले स्थानीय सरकारलाई भ्रष्टाचारमुक्त बनाउने भनेको छ । जनताले सुशासनको पहिलो अनुभूति स्थानीय सरकारबाट गर्ने उल्लेख गर्दै घोषणापत्रमा लेखिएको छ ।

कर कटौतीको योजना

घोषणा पत्रमा एकीकृत समाजवादीले कर कटौतीको विषयलाई पनि अगाडि सारेको छ ।

सुकुम्बासीको व्यवस्थापन

यसैगरी विभिन्न तरिकाले कब्जा भएका सार्वजनिक जमिनको खोजी गर्ने र त्यसलाई पालिकाको मातहतमा ल्याउने एकीकृत समाजवादीको घोषणा छ । भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने विषयलाई पनि घोषणापत्रमा समेटिएको छ ।

पालिकाहरूले आवश्यकताअनुसार प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरी वास्तविक सुकुम्बासीलाई उचित व्यवस्थापन गर्ने, अव्यवस्थित वसो बासीको उचित व्यवस्थापन गर्ने, भूमिहीन किसानहरूलाई खेतीयोग्य जमिन उपलब्ध गराउने प्रोत्साहनमुखी कार्यक्रम ल्याउने, घरबारबिहीनका लागि घडेरीसहित घरनिर्माणका कार्यक्रम ल्याइने एकीकृत समाजवादीको योजना छ ।