आजदेखि वैशाख १२ गतेसम्म वीणा उल्का वर्षा हुने

file photo

सक्रिय मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले बताएको छ । आजदेखि सक्रिय हुने वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख १२ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताएका छन् । वैशाख ९ गते राति ९ बजेदेखि सूर्र्यदयसम्म उल्का वर्षा हेर्न/देख्न सकिने उनले बताएका छन् ।
अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५-२० वटा उल्का खसेको देखिने छन् । ‘थ्याचर’ नामक पुच्छ्रे ताराले छोडेका धुलाका कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नष्ट हुँदा यो उल्का वर्षा देखिने गर्दछ । ‘थ्याचर’ पुच्छे्रताराले सूर्यको एक परिक्रमा लगाउन ४१५ वर्ष लाग्दछ ।
पुच्छ्रे ताराले वा धुम्केतुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धुलाका कण छोड्दछ जुन लाखौँ किलोमिटरसम्म फैलिएर रहेका हुन्छन् । यसरी फैलिएका धुलाका कणहरुले सूर्यको वरिपरि परिक्रमा गरिरहेको हुन्छ । परिक्रमा गर्ने क्रममा जब यी धूलाका कणहरु पृथ्वीको वायुमण्डलमा ठोकिन्छन् तब उल्का वर्षा देखिने गर्दछ । १० वा सोभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भनिन्छ ।