पल शाह र म मिल्ने साथि मात्र हौ – समिक्षा अधिकारी

अभिनेता पल शाहले आफूमाथि पटकपटक बलात्कार गरेको भनेर प्रहरीमा जाहेरी दिएकी नाबालिग गाईकाले अदालतमा आफ्नो बयान फेर्दै आफूमाथि पटकपटक बलात्कार नभएको बयान दिएकी छिन् । नाबालिगले अदालतमा बकपत्र गर्ने समयमा भने पहिले दिएको बयान प्रतिकुल हुने गरी होस्टाइल बयान दिएकी हुन् ।

प्रहरी कार्यालयमा जाहेरी दिने समय र सरकारी वकिल सामुन्ने लिइएको बयानमा पीडित बालिकाले आफूमाथि जबरजस्ती करणी भएको दाबी गरेकी थिइन् । तर आइतबार अदालतमा बयान गर्ने क्रममा भने नाबालिगले आफूमाथि बलात्कार नभएको तर दबाब र प्रभावमा परी बलात्कारको जाहेरी दिएको बकपत्र गरेकी छिन् । उनको होस्टाइल बकपत्र लगत्तै पल शाह प्रकरणमा ट्वीस्ट देखिएको छ ।

नाबालिगको तर्फबाट कानुनी सहायता दिइरहेकी एक अधिवक्ताका अनुसार जाहेरवाला रहेका पीडित नाबालिगका बुवाले पनि होस्टाइल बकपत्र गरेका छन् । उनले पनि नाबालिगले जस्तै जबरजस्ती करणी नभएको तर दबाब र प्रभावमा परी जाहेरी दिएको भन्दै एकै मिलानको बयान गरेका हुन् ।

पीडित नाबालिग र नाबालिगको तर्फबाट जाहेरी दिएका उनका बुवाको होस्टाइल बकपत्रसँगै अभिनेता पल शाहलाई केही राहत मिलेको अनुमान गरिएको छ । मुख्यतः तथ्य र प्रमाणबाट पुष्टि हुने अन्य आधार नदेखिएको अवस्थामा पीडित पक्षले बयान फेरेमा अदालतले आरोपितलाई सफाइ दिने सम्भावना बढी रहन्छ ।

आइतबार अदालतमा बयानका क्रममा पीडितले अत्यन्त अस्वाभाविक व्यवहार देखाएकी थिइन् । उनले कलाकार शाहमाथि लागेका सबै आरोप निराधार भएको भन्दै खण्डन गरिन् । अनि आफू र कलाकार शाह मिल्ने साथी भएको बताइन् ।

‘सामाजिक सञ्जालमा आफूमाथि ज्यादा प्रश्न उठेकाले आवेशमा आएर उजुरी दिएको उनको भनाइ थियो’ अदालत स्रोतले भन्यो, ‘त्यसबाहेक कहिं पनि उनले आफूमाथिको घटना स्विकारिनन् । सबै झुटो हो भन्दै बयान दिइन् । अनि मुद्दाको मिसिलमा पेश भएका सबै प्रमाणहरु समेत अस्विकार गरिन् ।’

बयानका क्रममा उनी कतिबेला रोएकी थिइन् भने केहीबेरमै फेरि हाँस्थिन् । अनि एकाएक ठट्यौली शैलीमा र केहीबेरमा फेरि गम्भिर रुपमा प्रस्तुत भएको एक कर्मचारीले बताए । उनका अनुसार बालिकाका बयानका क्रममा इजलासमा उपस्थित गराइएका कलाकार शाह पनि रोएका थिए ।

‘पीडितमाथि बलात्कार भएको भनेर हामीले उनको भनाइसहित कयौं अरु प्रमाणहरु पेश गरेका थियौं’ ती सरकारी वकिलले भने, ‘ती प्रमाणमध्ये पीडितले नै आफूमाथि बलात्कार भएको होइन भनेर बयान फेरेकी हुन् । अरु प्रमाण यथावत छन् ।’ उनका अनुसार, पीडितले बयान फेर्नसक्ने (होस्टाइल हुनसक्ने) आशंकाका साथ सरकारी वकिलको रोहवरमा पीडितको बयान लिएको प्रहरीले भिडियो रेकर्ड गरेको थियो र त्यो अदालतमा समेत पेश गरेको छ । तनहुँ प्रहरीमा पीडितले भिडियो बयानका क्रममा नै पल शाहले शुरुमा आफूलाई माया गर्ने, केयर गरेको विश्वासमा पारी जबर्जस्ती गरेको भनी बयान दिएकी थिइन् ।

पीडितका बाबुले जाहेरीपत्रमा नै छोरीले आफूमाथि बलात्कार भएको भनी आफूलाई बताएको विवरण उल्लेख गरेका छन् । उनले प्रहरीमा संरक्षकको रोहबरमा बयान गरेको उल्लेख छ । अहिले अदालतमा भने पीडितले शारीरिक परीक्षण प्रतिवेदन समेत अस्विकार गरेको स्रोतले बतायो । कलाकार पल शाहले प्रहरीसँगको बयानमा आफूहरुबिच सम्बन्ध भएको र त्यसपछि रजस्वला रोकिएकाले पीडितले आफूलाई बिहे गर्न स्विकार्नुपर्छ भनी दबाव दिएको समेत बताएका थिए ।