दीपक मानाङेद्वारा कर्मचारीमथि कुटपिट, भन्छन् : राम्रोसँग सम्झाएको मात्रै हो

गण्डकी प्रदेश खेलकुद मन्त्री दिपक मनाङे

पोखरा | गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीब गुरुङ (दीपक मानाङे) ले मंगलबार कर्मचारमाथि कुटपिट गरेका छ्न् । मंगलबार ५ बजेपछि मन्त्रीको कार्यकक्षमा पुगेका मन्त्रालयका सूचना अधिकारी प्रकाश ओझामाथि उनले हातपात गरेका हुन् ।

मन्त्रालयका एक कर्मचारीका अनुसार फाइल लिएर गएका ओझासँग मन्त्रीको भनाभन भएको थियो । भनाभनकै क्रममा मन्त्री मनाङले धकेल्दै ओझालाई कुटपिट गरेका थिए । युवा स्वरोजगारसम्बन्धी कार्यविधिमा छलफल हुँदा दुईबीच विवाद भएको बुझिएको छ । घटनापछि ओझा बुधबार कार्यालय आएनन् । स्वास्थ्य परीक्षण गर्न अस्पताल जानका लागि मोटरसाइकल मगाएपछि मन्त्रालयकै कर्मचारीले उनको कोठामा पुर्‍याइदिएका थिए ।

मन्त्रीका निजी सचिव राजेन्द्र आचार्यले भने घटनाबारे आफूलाई ढिलो गरी थाहा पाएको बताए । ‘म मन्त्रालयका अरु काममा व्यस्त थिएँ,’ उनले भने, ‘मन्त्रीज्यूको कार्यकक्षमा भनाभन भएको भन्ने थाहा पाएँ ।’ ओझाको मोबाइल मंगलबारदेखि नै ‘अफ’ भएकोले थप जानकारी लिन नपाएको उनले बताए ।

मन्त्री मनाङेले भने आफूले कुटपिट नगरी सम्झाएको दाबी गरे । ‘मन्त्रालयका गोप्य सूचना बाहिर लिक नगर्नु भनेर राम्रोसँग सम्झाएको मात्रै हो,’ उनले भने, ‘कहाँ-कहाँ के-के लिकेज भएको छ भनेर अब ५ सदस्यीय छानबिन समिति बनाउँदै छु ।’

ओझाले अनुदानसम्बन्धी कार्यविधि पारित हुनुअघि नै बाहिर सार्वजनिक गर्ने र आफन्तलाई अनुदान दिने गरेको आरोप उनले लगाए । ‘जसले जे भन्यो त्यही पत्याउनुभएन,’ उनले भने, ‘त्यस्तो चोर जस्तो मान्छेलाई कसैले पिट्छ ? मैले होइन, पुलिसले पिट्ने हो ।