देउवाको डर : कांग्रेसले गठबन्धन नगरे एमाले –माओवादी मिल्छन् !

नेपाली काँग्रेसका सभापती र शेखर कोईराला

चैत २, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टिलाई बलियो बनाउन निर्वाचनमा गठबन्धन आवश्यक्ता भएको बताएका छ्न् । शनिबार काठमाडौंमा बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै देउवाले पार्टीभित्र सबै नेताले जित्न र पार्टीलाई बलियो बनाउनका लागि नै गठबन्धनको आवश्यकता रहेको बताएका हुन् ।

उनले आफ्नो कर्तव्य भनेको नै पार्टीलाई जिताउनु भएको जिकिर गरे । गठबन्धनको कुरा गरेर आफूले केही नबिगारेको र पार्टीको हितका लागि नै काम गरेको उल्लेख गरे ।

अहिले पनि नेकपा (एमाले) बलियो नै रहेको र कांग्रेसले गठबन्धन नगरे एमाले र नेकपा (माओवादी केन्द्र) मिल्ने सम्भावना रहेको देउवाको भनाइ छ ।

बीपी र सुवर्णशमशेरदेखि नै पार्टीभित्र गुट रहेको भन्दै उनले तत्काल पार्टीको गुट अन्त्य हुन नसक्ने तर्क गरे ।

संसद् विघटन गर्दा नै आफू निर्वाचनको पक्षमा रहे पनि संसद् पुनःस्थापनापछि सबैको सहयोगमा प्रधानमन्त्री बन्नु गलत नभएको बताए । पार्टीलाई कमजोर बनाउन नहुने सुझावलाई सकारात्मक रूपमा लिएको उनले उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले मुलुकको व्यापार घाटा आफ्नो कारणले नभएको भन्दै एमसीसीका कारण व्यापार घाटा कम हुने दाबी गरे ।

कार्यक्रममा कांग्रेस नेता शेखर कोइरालाले पार्टीको आफ्नै विचार र सिद्धान्तले निर्वाचनमा जानुपर्ने धारणा राखे । गठबन्धनका कारण कांग्रेसको अवस्था भारतीय कांग्रेसकै जस्तो हुन्छ कि भन्ने आशंका पैदा भएको उनको भनाइ छ ।