बुटवलमा प्रहरीसँगको झडपमा परेर चार जनाको ज्यान गयो

रुपन्देही – रुपन्देहीको बुटवलमा प्रहरीसँगको झडपमा परेर चार जनाको ज्यान गएको छ । मोतीपुर औद्योगिक क्षेत्रमा आज आइतवार प्रहरीसँगको झडपमा परेर घाइते भएकामध्ये चार जनाको ज्यान गएको हो ।

रुपन्देही – रुपन्देहीको बुटवलमा प्रहरीसँगको झडपमा परेर चार जनाको ज्यान गएको छ । मोतीपुर औद्योगिक क्षेत्रमा आज आइतवार प्रहरीसँगको झडपमा परेर घाइते भएकामध्ये चार जनाको ज्यान गएको हो ।

उपचारका लागि पाँच जना प्रहरीसहित १३ जनालाई ल्याएकोमा तीन जनाको अस्पताल आइपुग्दा नै ज्यान गइसकेको र थप एक जनाको उपचारका क्रममा ज्यान गएको युनिभर्सल मेडिकल कलेज भैरहवाका प्रशासन प्रमुख सुशील गुरुङले जानकारी दिनुभयो ।

ज्यान गुमाउनेमा सबै सर्वसाधारण रहेका छन् । ज्यान गुमाउनेमध्ये एक जना कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नम्बर १० का ४८ वर्षका रमेश परियार रहेका छन् । अरूको भने पहिचान खुलेको छैन ।

पाँच जना प्रहरी र चार जना सर्वसाधारण गरी नौ जनाको उपचार भइरहेको गुरुङले बताउनुभयो । ज्यान गुमाएका चारै जनाको शव भैरहवा मेडिकल कलेजमा राखिएको छ ।

अतिक्रमित बस्ती हटाउन प्रशासनले बल प्रयोग गर्न खोज्दा स्थानीयवासी प्रहरीमाथि जाइ लागेका थिए । त्यही बेला झडप हुँदा प्रहरीले गोली चलाएको थियो । प्रहरीले मृत्तकको नाम र ठेगाना खुलाएको छैन ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मोतीपुरमा कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले चार किल्ला तोकेर आज दिउँसो चार बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।