मन्त्री आले र सलमान खानबीच आज भिडिओ संवाद हुँदै

फाइल तस्विर

भारतिय अभिनेता सलमान खान नेपाल आउने मिति सरेर आगामी जेठ-१४ मा आउने भएका छ्न् । यसअघि वैशाख ३ गते खान आउने भनिएता पनि नेपाल सुपर लिग (एनएसएल) का कारण आउने मिति सरेको हो ।

एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७, २०७९ सम्म दशरथ रंगशालामा हुँदैछ । सलमानको कार्यक्रम ‘दबङ लाइभ इन नेपाल’ पनि दशरथ रंगशालामा हुने हुँदा खान आउने मिति सरेको हो ।

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र भारतीय अभिनेता सलमान खानबीच आज भिडिओ संवाद हुने भएको छ ।

सोही कार्यक्रमलाई लक्षित गरी आज दिउँसो ३:१५ बजे मन्त्री आलेले अभिनेता खानसँग भिडिओ संवाद गर्ने कार्यक्रम तय भएको मन्त्री आलेका स्वकीय सचिवालयले जनाएको छ।

अभिनेता खान नेपाल आउने कार्यक्रमलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर मन्त्री आलेले खानसँग संवाद गर्ने कार्यक्रम तय भएको हो।

भारतीय अभिनेता खान नेपाल आउँदा यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।